
हेटौंडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दिलिपराज केशरीलाई जिल्ला अदालत मकवानपुरले ८ बर्ष कैद सजाय सुनाएको छ ।
न्यायाधीश कमलराज विष्टको एकल इजलासले साढे ६ वर्षअघिको घटनामा ज्यान मार्ने उद्योग अन्तर्गत केशरीलाई ८ बर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो । अदालतले केशरीबाट पीडित पक्षलाई १ करोड १४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ ।
एसिड हान्नका लागि सहयोग गरेको भन्दै अदालतले सहयोगी सञ्जयकुमार मण्डललाई २ बर्ष ६ महिना कैद सहित ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
केशरीलाई प्रहरीले कात्तिक १४ गते र सहयोगी मण्डललाई १० दिनपछि पक्राउ गरेको थियो ।
भारत महाराजगंज अमरपुर्वन वडा नम्बर ६ का केशरीले कंसाकारलाई २०७० साल वैशाख ९ गते उनकै पसलमा गएर एसिड प्रहार गरी फरार भएका थिए ।