
लुइस सुआरेजको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पानिस ला लिगामा अलाभेजलाई ४–१ ले पराजित गरेको छ । पेनाल्टीबाट एक गोल गरेका सुआरेजले तीन गोलका लागि सहयोग गरेका थिए ।
सुअरेजसँगै बार्सिलोनाको जितमा एन्टोनी ग्रिजमन, अर्टुरो भिदाल र कप्तान लिओनल मेस्सीले गोल गरे ।
घरेलु मैदान क्याम्प नोउमा १४ औं मिनेटमा सुआरेजको पासमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा सुआरेजकै पासमा भिदालले गोल गर्दै अग्रता दोब्बर पारे ।
५६ औं मिनेटमा अलाभेजका पेरे पोन्सले गोल गर्दै गोलअन्तर घटाएका थिए । तर ६९ औं मिनेटमा कप्तान मेस्सीले सुआरेजको पासमा गोल गर्दै अग्रतालाई ३–१ बनाए । असिस्टमा ह्याट्रिक गरेका सुआरेजले ७५ औं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि बार्सिलोनाले सहज जित हात पारेको हो ।