
पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन् । राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकाले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने उनकाे भनाइ छ ।
‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको केन्द्र निर्माणमा पनि दाङ जिल्ला एउटा महत्वपूर्ण जिल्लाको रुपमा उभिएर आउँछ भन्ने मेरो विश्वास छ’, दाङमा बुधबार बिहान सञ्चारकर्मीसँग प्रचण्डले भने, ‘ मैले त्यसको निम्ति आफ्नो ठाउँबाट हिजो पनि पहल गर्दै आइकाे थिएँ र भोलि पनि गर्नेछु । ’
प्रदेशको राजधानी टुंगो लागिसकेपछि विकास प्रक्रियाले गति लिने बताउँदै प्रचण्डले अगाडि थपे, ‘दाङ जिल्लाले खेल्ने भूमिका प्रदेशस्तरमा मात्र होइन, राष्ट्रिय स्तरमा पनि महत्त्वपूर्ण भएर आउँछ भन्ने विश्वास छ र हाम्रो तर्फबाट त्यो कोसिस भई नै राखेको छ ।’