504 views 0 secs 0 comments

एकै परिवारका वर्ष नबित्दै नौ जनाको निधन…

In समाज
९ भाद्र २०७६, सोमबार १५:४२

कुनै दैवी विपत्ति वा दुर्घटनाबिना छोटो अवधिमा एकै परिवारका धेरैको निधन हुनुलाई अनौठो संयोग मान्न सकिन्छ । यहाँका एकै परिवारले वर्ष दिन नबित्दै परिवारका नौ सदस्य गुमाउनुपरेको छ ।
चौबीसे गाउँपालिकाका बराल परिवारले एक वर्ष नपुग्दै नौ जना आफन्त गुमाएका छन् । एकपछि अर्को गर्दै परिवारका सदस्यको निधन भएपछि उक्त परिवारलाई न त कुनै चाडपर्वले छोएको छ, न कुनै खुसियालीको अवसरमा रमाउन पाएको छ ।

स्थानीय रेवतीप्रसाद, चिरञ्जीवी र लीलानाथ सहोदर दाजुभाइ हुन् । ७० वर्षका साइँला रेवतीको निधन भएको ६ महिना नपुग्दै ७४ का माहिला चिरञ्जीवी र दुई महिनापहिले ६४ वर्षका अन्तरे लीलानाथको निधन भयो । सबैको एकै प्रकारको स्वास्थ्य समस्या रहेको परिवारजनले जनाएको छ । अधिकांश श्वासप्रश्वासबाट ग्रसित रहेको परिवारका सदस्य घनश्याम बरालले बताए ।
दुई महिनाअघि ५९ वर्षकी बुहारी यमुनादेवी र ६० वर्षीया गायत्राको पनि कालगतिले निधन भयो । गत साउन महिनामा मात्र बालकदेखि ज्येष्ठ सदस्यसमेतले ज्यान गुमाएका छन् ।

उक्त महिना सोही परिवारका ३ जनाको लगातार निधन भयो । निधन हुनेमा १३ वर्षका सुदीप, ८२ का खेमप्रसाद र ७० की
सेतीकुमारी छन् । सुदीपको ब्लड क्यान्सरले ज्यान गएको छ भने अन्यको श्वासप्रश्वासको समस्याले निधन भएको जनाइएको छ । तीन महिनाअघि ज्वाइँ नारायणप्रसाद पोख्रेलको पनि निधन भएपछि परिवारले शोकैशोकमा दिन बिताउनुपरेको घनश्याम बताउँछन् । ‘हामी त यो शृंखलाले मर्माहत भएका छौं,’ उनले भने, ‘कहिल्यै यस्तो नियति भोग्नुपरेको थिएन ।’ पत्नी गुमाएका ६५ वर्षीय खड्गप्रसाद पनि यो उमेर आइपुग्दासम्म यस्तो सामना कहिल्यै गर्नु नपरेको बताउँछन् ।

कल्पनाभन्दा बाहिरको घटनाले दिनरात पिरोलिरहेको उनको भनाइ छ । निधन हुने सबै एकै दाजुभाइका सन्तान तथा कुटुम्ब भएको खड्गप्रसादले बताए ।

ठूलो भूकम्प र कैयौं लामो सवारी यात्रामा पनि उक्त परिवारले यसरी सदस्य गुमाएका थिएनन् । तर कालगतिले एकपछि अर्को सदस्य गर्दै नौ जना गुमाउनुपर्दा अधिकांश परिवार चिन्तित रहेको धनेश बरालले बताए ।

उनले चार दाजुभाइमध्ये दुई दाजु र एक भाइलाई यसै वर्ष गुमाएका छन् । ‘हामी चार जनामध्ये वर्ष दिन नबित्दै तीन जनालाई गुमाउन पुगेका छौं,’ उनले भने, ‘जस्तो अवस्थामा पनि धैर्यगर्नैपर्ने रहेछ ।’ यो परिवारको पुर्ख्यौली थलो कुरुलेतेनुपा भए पनि हाल मोरङ, झापा, धनकुटामा बसोबास गर्दै आएकोठाकुर बरालले जानकारी दिए । उनले भने, ‘वर्ष नबित्दै नौ जना गुमाउँदा अत्यास नै लागिसकेको छ ।’