
पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण विस्तारै बढ्दैछ । इन्धन नचाहिने र वातावरणलाई हानी नपुर्याउने भएकाले विद्युतीय सवारी साधनलाई सरकारले पनि प्रोत्साहन गर्न खोजेको छ ।
देशको व्यापार घाटा न्यूनीकरण गर्ने हिसाबले पनि सरकारले विद्युतीय सवारीको प्रयोग बढाउन खोजेको हो । गत आर्थिक वर्षमा मुलुकको कूल व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँभन्दा माथि भयो । यसमा इन्धनको हिस्सा मात्रै तीन खर्ब रुपैयाँ हाराहारीमा छ ।इन्धनबाट चल्ने सवारीसाधनहरुमा बैंकहरुले ५० प्रतिशत मात्रै कर्जा दिनसक्ने प्रावधान बनाएको राष्ट्र बैंकले विद्युतीय सवारीसाधनहरुलाई भने ८० प्रतिशतसम्म कर्जा दिनसक्ने व्ययवस्था गरेको छ । सरकारी तबरबाटै लचिलो नीति आएपछि यतिबेला वाणिज्य बैंकहरुले समेत विद्युतीय सवारीसाधनका लागि उपलब्ध गराउने कर्जामा आकर्षक अफरहरु ल्याउँदैछन् ।
केही बैंकहरुले विद्युतीय सवारी साधनका लागि धेरै फाइनान्स सुविधा र सस्तो व्याजरदरको घोषणासमेत गरेका छन् । अन्य बैंकहरुले पनि विद्युतीय सवारीसाधन कर्जालाई प्राथमिकतामा राखेको बताउँछन् ।