काठमाडौँ । निर्वाचनको मुखमा सुरक्षा चुनौति बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायका प्रमुखसँग छलफल बोलाएका छन् ।
प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार आज साँझ प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल डाकेका छन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग प्रधानमन्त्रीले मुलुकको सुरक्षा अवस्थावारे छलफल गर्न थालेका हुन् ।
यसअघि, गृहमन्त्रालयद्वारा आज यहाँ आयोजित प्रतिनिधिसभा र प्रदेश सदस्य निर्वाचन–२०७४ अन्तर्गत प्रदेश नं ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अगामी निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउन निर्देशन सुरक्षा निकायलाई दिएका थिए ।
उनले मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाइ जनतालाई सुरक्षाको प्रत्याभूति दिएर निर्धक्क रुपमा मतदान गर्ने वातावरण बनाउन निर्देशन दिए ।
प्रम देउवाले भने “आम मतदातालाई भड्काउने, मतदानस्थल कब्जा गर्ने मनसाय पनि सुरक्षाको चुनौती बन्नसक्छ, सबै सुरक्षा निकायले सुरक्षा प्रणालीमा तहगत निर्देशनलाई उचित रुपमा परिपालना गरेर काम गर्नुस् ।”
उनले लामो संघर्षपछि वर्तमान संविधान आएको चर्चा गर्दै संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेकोमा जोड दिए ।
गृह मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्री देउवाले ‘चेन अफ कमान्ड’ भित्रै रहेर निर्वाचनमा उच्च सुरक्षा सतर्कता अपनाउन पनि सचेत गराएका थिए ।
हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवाले जनताले चाहेको उम्मेदवारलाई निर्धक्कसँग मत हाल्ने वातावरण बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्री देउवाले निर्वाचनविरोधि गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तालाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न पनि सुरक्षा निकायलाई सचेत गराएका थिए ।
गोष्ठीमा सबै जिल्लाका सुरक्षा अधिकारीले सुरक्षाको अवस्था, चुनौती र समाधानका उपायका बारेमा जानकारी समेत गराएका थिए ।
सहभागीले प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखले समग्रमा विभिन्न समूह, अवैध हतियार, विस्फोटक पदार्थ र केही स्थानमा बुथ कब्जा मुख्य चुनौती रहेको अवगत गराउँदै चुनौतीलाई समाधान गर्न सुरक्षा रणनीतिको सर्तकता अपनाइएको जानकारी दिएका थिए ।