
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग गर्ने घोषणा गरेका छन्। बुधबार मन्त्री पदमा नियुक्त भएका भट्टराईले बिहीबार संचारकर्मीमाझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले काम गर्न नसक्ने महशुश हुनासाथ पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।
बिहीबार बिहानै काठमाडौंको बल्खुस्थित तत्कालीन एमालेको केन्द्रीय कार्यालय परिसरमा रहेको मदन भण्डारीको शालिकमा माध्यार्पण गरेपछि उनले आफूले प्रधानमन्त्रीसँग करार सम्झौता गर्न नपाएको उल्लेख गर्दै काम गर्न असफल भएको महशुस हुनासाथ जिम्मेवारीबाट पछि हटने बताए।
‘मेरो सबैभन्दा ठूलो करार सम्झौता त्यही हुनेछ, जुन दिन मैले काम गर्न सकिन् अथवा म असफल भएँ भन्ने महशुस प्रधानमन्त्रीलाई हुन्छ,’ मन्त्री भट्टराईले भने, ‘त्यो दिन प्र्रधानमन्त्रीले मलाइ भन्नु हुनेछ र म मन्त्री पदबाट हटनेछु।’
मन्त्री भट्टराईले सरकारले ल्याएको ‘सुःखी नेपालीः समृद्ध नेपाली’ को नारालाई पूरा गर्न लागिपर्ने र ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपाललाई विश्वकै आकर्षक पर्यटक गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए।