667 views 0 secs 0 comments

चुनावी मैदानमा रहेका खेलकुदका हस्ती

In देश, राजनीति, समाज
६ मंसिर २०७४, बुधबार १४:१७

काठमाडौं : मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खेलकुद क्षेत्रका केही चर्चित अनुहार पनि चुनावी मैदानमा होमिएका छन् । यसपटक चुनावी मैदानमा उत्रनेमा खेलकुदमा गतिलो पहिचान बनाइसकेका व्यक्तिहरू पनि छन् ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव तथा नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।एमालेका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ यसअघि पनि दुईपटक संविधानसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । तर, उनी दुवैपटक कांग्रेस नेता नवीन्द्रराज जोशीसँग पराजित भएका थिए ।

यसअघि काठमाडौं महानगरपालिकाको प्रमुख बन्ने दौडमा समेत रहेका श्रेष्ठलाई पन्छाउँदै अन्तिम समयमा विद्यासुन्दर शाक्यले टिकट पाएका थिए । जीवनरामले यसपटक पनि कांग्रेसका नवीन्द्रराज जोशीसँग प्रतिस्पर्धा गर्नेछन् ।पूर्वओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमाल पनि कांग्रेसबाट प्रदेशसभा उम्मेदवार बनेका छन् । सन् १९८४ मा अमेरिकाको लसएन्जलसमा भएको ओलम्पिकमा सहभागिता जनाएका आफ्नो समयका प्रभावशाली भारोत्तोलन खेलाडी हमाल बाँके क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभाको उम्मेदवार बनेका हुन् ।

यसैगरी अखिल नेपाल फुटबल संघका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर पनि काठमाडौं क्षेत्र नम्बर ९ (क) को प्रदेशसभा सदस्य उम्मेदवार बनेका छन् । एन्फा प्रवक्तासमेत रहेका तुलाधर नेपाली कांग्रेसका तर्फबाट चुनावी मैदानमा होमिएका हुन् । तेक्वान्दोका सहायक प्रशिक्षक तुलाधर संकटा क्लबका अध्यक्ष हुन् । तुलाधरले वाम गठबन्धनका अजयकान्ती शाक्यसँग प्रतिस्पर्धा गर्नेछन् ।यसैगरी राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन ललितपुर क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्यको चुनावी मैदानमा छन् ।

करातेका पूर्वखेलाडी महर्जन कांग्रेसबाट उम्मेदवार बनेका हुन् । उनले यस क्षेत्रमा वाम गठबन्धनका चेतनाथ सन्जेलसँग प्रतिस्पर्धा गर्नेछन् । नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष टंक आङबुहाङ ताप्लेजुङ (ख) बाट प्रदेशसभा उम्मेदवार बनेका छन् । माओवादीबाट चुनाव लडेका आङबुहाङले कांग्रेसका दीपेन्द्रकुमार सेन्दाङसँग प्रतिस्पर्धा गर्नेछन् ।माओवादी केन्द्रबाटै कास्की क्षेत्र नम्बर १ (क) को प्रदेशसभा चुनावमा नेपाल क्रिकेट संघका कार्यवाहक अध्यक्ष दीपक कोइराला पनि मैदानमा उत्रिएका छन् । उनले कांग्रेसका जीवन परियारसँग प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव केशव स्थापित काठमाडौं क्षेत्र नम्बर ६ (क) बाट प्रदेशसभाका लागि चुनावी प्रतिस्पर्धामा छन् । काठमाडौं महानगरपालिकाका पूर्वमेयरसमेत रहेका स्थापितले कांग्रेसका न्हुछेनारायण मानन्धरसँग प्रतिस्पर्धा गर्दैछन् ।यसैगरी नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह पनि आसन्न प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् । नेपाली कांग्रेसको तर्फबाट जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा होमिएका शाह अहिले चुनावी अभियानमा जिल्लामै व्यस्त छन् ।मंसिर १० गते हुने निर्वाचनमा उनले वाम गठबन्धनका शक्ति बस्नेतसँग प्रतिस्पर्धा गर्नेछन् । माओवादी नेता बस्नेत पूर्वगृहमन्त्री हुन् ।

यसैगरी युवा तथा खेलकुद राज्यमन्त्री एवं पूर्व भलिबल खेलाडी तेजुलाल चौधरी सप्तरी ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । चौधरी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । राष्ट्रिय खेलकुद परिषद्की पूर्वसदस्यसचिव शकुन्तला नगरकोटी पनि चुनावी मैदानमा होमिएकी छन् । उनी नेकपा एमालेको समानुपातिक सूचीमा छिन् । नेपाल ओलम्पिक कमिटीका सदस्य सलिममियाँ अन्सारी पनि एमालेबाट समानुपातिक सूचीमा परेका छन् । अखिल नेपाल फुटबल संघकी पूर्वअध्यक्ष गीता राणा पनि कैलाली ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी छन् । उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी हुन् ।