भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव लड्ने भएपछि वाराणसी(बनारस) लोकसभा सिटको चर्चा त्यसै नै हुने भयो। सोमबार समाजवादी पार्टी(सपा) ले नरेन्द्र मोदीविरुद्ध आफ्नो उम्मेदवार परिवर्तन गरेपछि वाराणसी सिट फेरि एकपटक चर्चामा आएको छ।
अन्तिम समयमा समाजवादी पार्टीले वाराणसीबाट बोर्डर सेक्युरिटी फोर्स(बीएसफ) बाट बर्खास्त जवान तेजबहादुर यादवलाई टिकट दिएको छ। सपाले उम्मेदवार परिवर्तन गरेसँगै कांग्रेसले पनि उम्मेदवारी फिर्ता लिने चर्चा चल्न थालेको छ। यदि कांग्रेसले पनि उम्मेदवारी फिर्ता लिएमा मोदीलाई चुनाव जित्न हम्मेहम्मे हुन सक्छ।
यसै विषयमा भारतीय पत्रकार उमाशंकर सिंह लेख्छन्, ‘कांग्रेस तथा राहुल गान्धीले अब तेजबहादुरको समर्थनमा आफ्नो उम्मेदवारी फिर्ता लिन्छन् त भन्ने ठूलो प्रश्न रहेको छ।’वाराणसीबाट कांग्रेसले अजय रायलाई उम्मेदवार बनाएको छ।
बलिउडका गीतकार तथा युवा कथाकार गौरव सोलंकी लेख्छन्, ‘बनारसवाला जवानलाई भोट दिन्छन् वा जवानका नाममा दिन्छन्?’
को हुन् त तेजबहादुर यादव?
बीएसफमा कार्यरत तेजबहादुर यादवलाई सन् २०१७ मा खराब खानाबारे गुनासो गरेपछि सेवाबाट बर्खास्त गरिएको थियो। तेजबहादुरले पहिले नै निर्दलीय रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। अब उनले सपाको चुनाव चिन्हबाट चुनाव लड्ने भएका छन्। सपाका तर्फबाट शालिनी यादवले उम्मेदवारी दिएकी थिइन्। उनको उम्मेदवारी फिर्ता लिँदै सपाले तेजबहादुरलाई उम्मेदवार बनाएको हो।
गएको मार्चमै तेजबहादुर यादवले प्रधानमन्त्री नरेन्द्र मोदवीविरुद्ध बनारसबाट चुनाव लड्ने बताएका थिए। यादवले आफ्नो उम्मेदवारी भ्रष्टाचारविरुद्ध भएको बताएका छन्, ‘मैले भ्रष्टाचारको मुद्दा उठाएँ। तर मलाई बर्खास्त गरियो । मेरो पहिलो प्राथमिकता सेनालाई बलियो बनाउनु र त्यहाँ भएको भ्रष्टाचार अन्त्य गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ।’
तेजबहादुरले बीएसफमा जवानलाई दिइने खानाको गुणस्तरीयतामाथि प्रश्न उठाउँदै भिडिया बनाएका थिए। सामाजिक सञ्जालमा उनको भिडियो भाइरल भएको थियो।
यस प्रकरणमा निकै विवाद भएपछि प्रधानमन्त्री कार्यालयले हस्तक्षेप गरेको थियो। बीएसफले अनुशासनात्मक कारबाही गर्दै तेजबहादुरलाई बर्खास्त गरिएको थियो। आफ्नो बर्खास्तगीका विषयमा तेजबहादुर अदालत गएका थिए। यो मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ। उत्तर प्रदेशको वाराणसीमा अन्तिम चरणअन्तर्गत मे १९ मा चुनाव हुँदैछ।
प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीबाटै निर्वाचित सांसद हुन् । सन् २०१४ मा नरेन्द्र मोदीले तीन लाखभन्दा बढी भोटको अन्तरले जितेका थिए। दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई हराएका थिए। मोदीले ५ लाख ८१ हजार भोट ल्याएका थिए। दोस्रो स्थानमा रहेका केजरीवालले २ लाख नौ हजार भोट ल्याएका थिए। कांग्रेसका अजय रायले ७५ हजार भोट ल्याउँदा बहुजन समाज पार्टीका विजयप्रकाश जयशवालले ६० हजार भोट ल्याएका थिए।
सन् २०१४ को निर्वाचनको अंकगणित हेर्दा विपक्षी दल सबैले तेजहादुरलाई समर्थन गरेमा मोदीलाई टक्कर दिन सक्ने अवस्था रहेको छ।