
एसिसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ। साबिकको विजेता नेपालले फाइलमा मलेसियालाई आइतबार ५९ रनले पराजित गर्दै दोस्रो पटक पनि च्याम्पियन बनेको थियो।
यु–१६ टोलीका कप्तान विशालविक्रम केसीले नयाँ टोली भए पनि कडा मिहिनेतले प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएको बताए। ‘प्रतियोगिता हाम्रा लागि नयाँ कुरा सिक्ने र आफ्नो क्षमता कस्तो रहेछ भनेर थाहा पाउने माध्यम बन्यो,’ विशालले भने, ‘उपाधि जितेसँगै टोलीको मनोबलसमेत बढेको छ।’
‘कुनै पनि खेलमा विपक्षीलाई कमजोर रूपमा लिने गल्ती गर्न हुन्न,’ विशालविक्रमले भने, ‘हामीले सबै खेलमा सहज जितका साथ उपाधि जितेको जस्तो देखिए पनि सबै टोली उत्कृष्ट थिए। हामीले बलिङ, फिल्डिङ र ब्याटिङ सबैै पक्षमा मिहिनेत गरेका कारण विजेता बन्न सफल भएका हौं।’
यता टोलीका प्रशिक्षक वसन्त शाहीले उमेरसमूहको क्रिकेट राष्ट्रिय टोलीको जग भएकाले यस्ता भ्रमणले टोलीको मनोबल सधैं बढाउने बताए। ‘उमेरसमूहको क्रिकेट राष्ट्रिय टोलीको जग हो,’ शाहीले भने, ‘भोलि यिनै खेलाडीले राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने हो। त्यसैले उमेरसमूहको क्रिकेटलाई पनि उत्तिकै प्राथमिकताका साथ लिन आवश्यक छ। हामीले छोटो समयको तयारीमा पनि उपाधि जित्न सफल भयौं। यसका लागि टोलीका सम्पूर्ण खेलाडी र अन्य सहकर्मीलाई विशेष धन्यवाद दिन चाहन्छु।’
क्रिकेटको निरन्तर विकासका लागि जग बलियो बनाउन आवश्यक छ,’ शाहीले थपे, ‘हामी ओडिआई मान्यता प्राप्त राष्ट्र हांै। हाल सिनियर टोलीमा रहेका खेलाडीले अब अधिकतम ३ वा ४ वर्ष खेल्नेछन्। त्यसैले राष्ट्रिय टोलीका लागि बेन्च स्ट्रेन्थमा पनि ध्यान दिन आवश्यक छ।’