856 views 1 sec 0 comments

एकपछि अर्को लापरवाही रानीपोखरी पुनर्निर्माणमा …

In देश
२ माघ २०७५, बुधबार १८:१८

गत असार ५ गते सम्पदाप्रेमी र स्थानीयवासीले काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई रानीपोखरीको घाँस उपहार दिए । समयमा काम नगरेको भन्दै उनीहरूले यसरी विरोध गरेका थिए ।
यस्तै गत पुस २४ गते पुनर्निर्माणमा भएको ढिलाइको विरोध गर्दै नेपाली काँग्रेस निकटको विद्यार्थी सङ्गठन नेविसङ्घले रानीपोखरीमा फुटबल खेलेको थियो ।

तर यसरी रानीपोखरीमा फुटबल खेल्नु लोकतन्त्रमा विभिन्न तरिकारबाट आफ्ना कुरा अभिव्यक्त गर्न सबैलाई छुट रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली बताउँछन् ।

रानीपोखरी निर्माणको प्रक्रिया अघि बढिसकेको सीईओ ज्ञवालीको दाबी छ । तर यता काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी भने अबको दुई तीन महिनापछि मात्रै रानीपोखरी पुनर्निर्माणको काम अघि बढ्ने बताउँछिन् ।

१८औँ राष्ट्रिय सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते रानीपोखरीको शिलान्याश गरिन् तर उनले शिलान्याश गरेको नै ३ वर्ष बितिसक्दा पनि रानीपोखरीको काम अघिबढेको छैन । बरु महानगरपालिका अर्को बोलपत्र प्रकाशन गर्ने साइत हेरेर बसेको छ ।

पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बनाउने जिम्मा पुरातत्व विभागले लिएको छ भने पोखरीको भाग बनाउने जिम्मा काठमाडौँ महानगरपालिकाले लिएको छ ।

अझ रोचक कुरा त यसअघि महानगरपालिकाले आह्वान गरेको टेन्डर प्रक्रियामा जम्मा ३ मात्र निर्माण व्यवसायीले सहभागिता जनाएका थिए । तीमध्ये एउटाको कागजपत्र नमिलेको, एउटाको व्यवसाय दर्ता प्रमाणपत्र नै नभएको र एउटा निर्माण कम्पनीले लागत इस्टिमेटभन्दा ११ प्रतिशत बढी रकम माग गरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल बताउँछन् ।

प्रवक्ता डङ्गोलले रातोपाटीसँग भने– ‘गएको कात्तिक २६ गते टेन्डर आह्वान भएको थियो । ३ वटा मात्र निवेदन परेको थियो । मङ्सिर ११ गते टेन्डर खोल्दा एउटाको कागजपत्र पुगेन, एउटा कम्पनीले व्यवसाय दर्ता नवीकरण नै भएको रहेनछ । अर्को रबिना कन्स्ट्रक्सनले लागत इस्टिमेटभन्दा पनि  ११ प्रतिशत बढी रकम माग गरेर बोलपत्र पेश गरेको थियो । नियमअनुसार यसलाई पनि छनौट गर्न मिलेन र टेन्डर स्थगित भयो ।’

उनले महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणका लागि फेरि बोलपत्र आह्वान गर्न  लागेको बताए ।

महानगरपालिकाको हचुवा निर्णय : ६ करोड स्वाहा, लागत इस्टिमेट ३ गुणा बढ्यो

रानीपोखरी पुनर्निर्माणमा सुरुदेखि नै काठमाडौँ महानगरपालिकाले हचुवामा निर्णय गर्दा करोडौँ रुपैयाँको क्षति भएको छ । मेयरका रूपमा निवार्चित भएर आएपछि विद्यासुन्दर शाक्यले रानीपोखरी वरिपरि कफी सप बनाउने, पोखरीको पिँधमा टायल हाल्ने आधुनिक पोखरी बनाउने योजना अघि सारेर काम सुरु गरेका थिए । उनले पोखरीमा कङ्क्रिटको पर्खाल लगाउने काम सुरु गरिसकेका थिए तर सम्पदाप्रेमीहरूको ब्यापक विरोध र दबाबका कारण पछि हट्न बाध्य भएका थिए ।

यता पुरातत्व विभागले पनि आरसीसी पिल्लरसहित बालगोपालेश्वरको मन्दिर बनाउन थाल्यो । विभागको कामको पनि विरोध भयो र अन्ततः प्रताप मल्लकालीन शैलीमा मन्दिर बनाउन तयार भयो ।
महानगरपालिकाले अहिले रानीपोखरी पुनर्निर्माणका लागि भ्याटबाहेक १२ करोड ६६ लाख लागत इस्टिमेट तयार पारेको छ । तर दुई वर्षअघि सुरुमा ६ करोड ११ लाखको लागत इस्टिमेट गरेकोमा तीन गुणा बढाएर १२ करोड ६० लाख रुपैयाँ पुर्याइएको छ ।

 

यसअघि महानगरपालिका र पुरातत्व विभागले हचुवाको भरमा काम गर्दा ५ करोड रुपैयाँ स्वाहा भएको छ ।

महानगरले वल्र्डवाइड कँडेल केएन के जेभी निर्माण व्यवसायीमार्फत रानीपोखरीमा कङ्क्रिटको पर्खाल लगाएको थियो । जनस्तरबाट व्यापक विरोध भएपछि ४ करोड खर्च गरेर लगाइएको कङ्क्रिटको पर्खाल भत्काउने निर्णय भएको छ ।

यस्तै पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर निर्माणमा आरसीसी पिल्लर उठाएपछि त्यसको विरोध भयो । मन्दिर निर्माणका क्रममा पनि १ करोड गरी अहिलेसम्म रानीपोखरी पुनर्निर्माणका क्रममा ५ करोडभन्दा बढी रकम स्वाहा भइसकेको छ ।

पछि  सुर्ती, चुना र इँटा प्रयोग गरेर परम्परागत शैलीमा मन्दिर बनाउन त थालियो तर जङ्गबहादुरले पुनर्निर्माण गरेको गुम्बज शैलीमा गर्ने कि प्रतापमल्ल कालीन शिखर शैलीमा गर्ने भन्ने अर्को विवाद सुरु भयो । प्रतापमल्ल कालीन शैलीमा बनाउने निर्णय भएपछि मन्दिर निर्माणको कामले गति लिन सकेको छैन ।

रानीपोखरी पुनर्निर्माणका लागि अर्को बोलपत्र आह्वान गर्ने प्रक्रिया पनि अझै सुरु भएको छैन । अब तत्कालै बोलपत्र आह्वान भए पनि वैशाखदेखि मात्रै रानीपोखरी पुनर्निर्माणको काम सुरु हुने देखिन्छ ।

अघिल्लो वर्ष पुस ११ गते रानीपोखरी निर्माणको विषयलाई लिएर महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच विवाद भएको थियो ।

सरकारी निकायले मौलिकाता मासेर रानीपोखरी पुनर्निर्माण गर्न लागेको भनेर सर्वोच्च अदालतमा मुद्दासमेत परेको थियो । २०७४ पुस १३ गते दीपक विक्रम मिश्रले पुरातत्व विभाग समेतलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए । गत वर्ष नै माघ २ गते मौलिकता नबिग्रिने गरी पुनर्निर्माण भइरहेको प्रतिवेदन अर्को आदेश नभएसम्म एक महिनामा पेश गर्ने लिखित जवाफ परेपछि अन्तिम सुनुवाइका लागि पेश गर्नू भन्ने आदेश भएको थियो ।

रानीपोखरी पुनर्निर्माणबारे प्राधिकरण महानगरको यस्तो भनाइ 

सुशील ज्ञवाली, सीईओ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण 
मैले दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हाले लगत्तै रानीपोखरीको कामलाई अगाडि बढाउन विभिन्न खालका छलफल अगाडि बढाई एउटा टुङ्गोमा पुर्याएको छु । रानीपोखरीको पुनर्निर्माणका लागि जुन मन्दिरको प्रतापकालीन शैली हो, त्यस ढङ्गले बनाउनेलगायतका कुरा अघि बढाएका छौँ ।