फ्रान्समा दोस्रो सप्ताहन्तमा पनि इन्धन मूल्यवृद्धिविरूद्धको प्रदर्शन

In विश्व
९ मंसिर २०७५, आईतवार १२:१२

फ्रान्स । प्यारिसमा प्रदर्शनकारीहरूले संवेदनशील भनेर तोकिएका क्षेत्रहरूस्थित सुरक्षा घेरा तोड्ने प्रयास गर्दा प्रदर्शनकारीहरू तथा प्रहरीबीच झडपहरू भएका थिए।

फ्रान्सको राजधानी प्यारिसमा दोस्रो सप्ताहन्तमा पनि इन्धनको मूल्यवृद्धिविरूद्ध विरोधप्रदर्शनहरू गरिएका छन्। प्यारिसमा प्रदर्शनकारीहरूले संवेदनशील भनेर तोकिएका क्षेत्रहरूस्थित सुरक्षा घेरा तोड्ने प्रयास गर्दा प्रदर्शनकारीहरू तथा प्रहरीबीच झडपहरू भएका थिए।

कैयौँ हजारको संख्यामा प्रदर्शनकारीहरू जम्मा भएको आकलन गरिएको छ भने तीन हजार प्रहरी अधिकारीहरू परिचालन गरिएको छ। पहेँलो रंगको ज्याकेट लगाएका प्रदर्शनकारीहरूले इन्धन करमा गरिएको मूल्यवृद्धि विरुद्ध विरोधमा उत्रिएका हुन्।

साअ जेलिजेका सडकहरूमा प्रदर्शनकारीहरू सुरक्षाका लागिएका अवरोधहरू तोडेका र प्रहरीले तिनीहरूलाई प्रधानमन्त्रीको सरकारी आवाससहित अन्य मह्त्त्वपूर्ण सरकारी भवनहरूसम्म पुग्नबाट रोक्नका लागि सुरक्षा घेरा तोकेका थिए।

निषेधित क्षेत्रहरूमा प्रदर्शनकारीहरू प्रवेश गर्न सकेको कुनै संकेत अहिलेसम्म फेला नपरेको फ्रान्सेली अधिकारीहरूले बताए। केही प्रदर्शनकारीहरूले प्रहरीतर्फ ढुंगा र पटाका प्रहार गरेका थिए साथै राष्ट्रपति एमानुएल माक्रोँलाई पदबाट राजीनामा दिन पनि आह्वान गरे।

आन्तरिक मामिलासम्बन्धी मन्त्री क्रिश्टोफ क्यास्ट-नेरले ती प्रदर्शनकारीहरू दक्षिणपन्थी नेत्री मारिन ल पेनबाट प्रभावित भएको आरोप लगाए। ल पेनले आफ्ना समर्थकहरूलाई देशद्रोह गर्नका लागि उक्साएको आरोप क्यास्टनेरले लगाएका छन्।

तर सामाजिक संजाल ट्वीटरमा एउटा सन्देश राख्दै ल पेनले क्यास्ट-नेरलाई इमान्दार नभएको आरोप लगाएकी छिन्। पछिल्लो १२ महिनाको अवधिमा औसतमा फ्रान्समा डिजेलको मूल्यमा करिब २३ प्रतिशतले वृद्धि भएको छ। सन् २००० को सुरुवात यताकै यो सबैभन्दा चर्को मूल्य हो।

राष्ट्रपति माक्रोँले विश्वव्यापी रुपमा बढेको तेलको मूल्यका कारण पनि मूल्यमा वृद्भि गरिनुपरेको बताएका छन्। नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन पनि इन्धनमा लगाइएको करमा वृद्भि गर्नुपरेको माक्रोँले बताए। बीबीसीको सहयोगमा