
लिउड र बलिउडका निर्माताहरू एउटा विषयलाई समातेर फिल्म बनाउने गरेको स्मरण गर्दै दीपाश्रीले आफ्नो समूहले पनि त्यही ‘गाइडलाइन’लाई अनुसरण गरेको दाबी गरिन्। ‘छक्का पन्जा र छक्का पन्जा २ मा वैदेशिक रोजगार र रेमिटान्सले समाजमा पारेको असरलाई देखाएका थियौं,’दीपाश्रीले खुलाईन्,‘छक्का पन्जा ३ ले अहिलेको शैक्षिक वेथितिलाई व्यंग्य गरेको छ। विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने सन्देश फिल्ममार्फत दिन चाहन्छौं ।’ उनले फिल्मको कथा लेख्नकै लागि ६ महिना बढी समय लागेको बताइन्।
दीपाश्रीले आगामी फिल्म ‘छक्का पन्जा’को सिक्वेलको रुपमा नबन्ने जानकारी गराइन्। ‘छक्का पन्जा आफैमा ब्रान्ड बनिसकेको छ । हामीलाई यही नाममा फिल्म बनाइरहँदा फाइदा छ। तर केही दर्शकले अब फिल्मको नाम परिवर्तन गर्नुपर्छ भन्ने सुझाव दिनुभएको छ,’दीपाश्रीले भनिन्,‘हामीलाई ‘छ’ अक्षर भाग्यशाली साबित बनेको छ । त्यसकारण अब बन्ने फिल्म ‘छ’ अक्षर कै हुन्छ तर छक्का पन्जा चाहिँ हुँदैन।’
फिल्मका निर्माता तथा कलाकार दीपकराजले यसपटक फरक तर समसामयिक विषयमा फिल्म बनाएकाले दर्शकले रुचाउने विश्वास व्यक्त गरे। ‘अघिल्ला फिल्ममा रुवाउने बेलामा दर्शक हँसायो भन्ने आरोप लाग्यो। तर यसपटक दर्शक रुने ठाउँमा दर्शक रुन र हाँस्ने ठाउँमा हाँस्न पाउँछन् । किनभने दुवै भावनात्मक दृश्यमा अवरोध गरेका छैनौं,’ दीपकले भने,‘हामी अर्को फिल्मको तयारीमा जुटिसकेका छौं । अझ राम्रो फिल्म बनाउने हाम्रो प्रयास जारी नै छ।’
कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले फिल्ममा आफू अन्याय नसहने समुदायको प्रतिनिधित्व गर्ने बताए। ‘मेरो भूमिका कस्तो छ भन्ने ट्रेलरमा पनि केही छनक आइसकेको छ,’उनले भने,‘तर यसपटक भने मेरो काम अलिक फरक छ।’
नायिका दीपिका प्रसाईले फिल्ममा शैक्षिक अभियन्ताको चरित्रमा देखिने बताउँदै हास्य कलाकारको समूहसँग काम गर्दा निकै रमाइलो अनुभव भएको सुनाइन्। ‘फिल्म ऐश्वर्या पछि मलाई झण्डै १० वटा फिल्मको अफर आए। तर मैले ‘छक्का पन्जा ३’ नै छानें,’दीपिकाले भनिन्,‘राम्रो व्यानरको खोजी गरिरहँदा यो फिल्ममा काम गर्ने मौका जु-यो।’