
केपी शर्मा ओली सत्तामा आएपछि सोमबार सातौं पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। उनी आउँदा १ सय रुपैयाँको हाराहारीमा रहेको पेट्रोलको मूल्य अहिले १ सय १४ रुपैयाँ पुगेको छ।
नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो। नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ।
सुरुमा कर बढाएर जनतालाई आतंकित पारेको ओली सरकारले अहिले धमाधम पेट्रोलको मूल्य बढाएर जनताको ढाड सेक्ने काम गरेको छ। बजारमा अचाक्ली बढेको मूल्यवृद्धि नियन्त्रणमा असफल रहेका बेला सरकार भने धमाधम पेट्रोलको मूल्य बढाइरहेको छ। पेट्रोलको मूल्य बढ्दा त्यसको असर सबैमा पर्ने गर्छ र महंगी ह्वात्तै बढाउँछ।
विकास र समृद्धिको नारा दिएर प्रधानमन्त्री बनेका ओली अहिले भने त्यो नारा बिर्सिएर जनताको ढाड सेक्नेतिर लागेका छन्। राज्यमा शान्ति सुरक्षा कायम गराउन पनि असफल भएका छन्।
यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठनले मूल्यवृद्धिविरुद्ध आन्दोलनको घोषणा गरेको छ। यसअघि पाँचौंपटक मूल्य बढाउँदा आन्दोलनमार्फत सरकारलाई घटाउन बाध्य पारेको नेविसंघ यसपटक पनि मूल्यवृद्धिविरुद्ध आन्दोलनको तयारीमा जुटेको हो ।