यी नायक : पहिले नाम, अहिले गुमनाम

In मनोरञ्जन
२४ माघ २०७४, बुधबार ११:५२

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा जसरी नव नायकको प्रवेश बढदो छ। त्यसरी नै पुराना नायकहरु गुमनाम बन्दै गएका छन्। एकपछि अर्को गर्दै चलचित्र क्षेत्रमा नव नायकहरु डेब्यू हुँदै जाँदा पुराना नायकहरु चलचित्रमा देखिन छाडेका हुन्। हलमा पुराना नायकहरुको चलचित्र लागिहाले पनि दर्शकले रुचाउन छाडेका छन्। अर्को अर्थमा भन्दा पुराना नायकहरुको चलचित्र चल्नै छाडेका छन्। जुन कुरा अहिलेको नेपाली चलचित्रको बजारले पनि बताइरहेको छ। केही पुराना नायकको चलचित्र प्रदर्शनमा नआएका पनि होइनन्।

तर के गर्नु ती चलचित्र हेर्न हलमा दर्शक नै पुगेनन्। कुनैबेला निरन्तर सफल चलचित्र दिएर चर्चा पाइरहने नायकलाई अहिले दर्शकले बिर्सिन लागिसकेका छन्। पुराना नायकको एकपछि अर्को चलचित्र फ्लप हुन थालेपछि निर्माता निर्देशक नै ती नायकलाई लिएर चलचित्र बनाउन चाहिरहेका छैनन्। हामीले कुनै समय चलचित्रमा व्यस्त तर हाल गुमनाम केही नायकको खोजी गरेका छौं।

राजेश हमाल
नेपाली चलचित्र क्षेत्रको नाम लिनेवित्तिकै शुरुमै जोडिन आउने नाम हो, राजेश हमाल। कुनै बेला यस्तो पनि थियो, जुन बेला राजेशको टाउको बिक्थ्यो। चलचित्रको पोष्टरमा राजेश भएपछि चलचित्र चल्थ्यो। ‘युगदेखि युगसम्म’ बाट डेब्यू यी नायकले हालसम्म डेढ सय बढी चलचित्रमा अभिनय गरिसकेका छन्।

कुनै बेला निकै व्यस्त यी नायक अहिले भने चलचित्र क्षेत्रबाट केही टाढा देखिएका छन्। आफू अभिनित पछिल्ला दुई चलचित्र ‘सकुन्तला’ र ‘वागमती’ फ्लप भएपछि उनी अहिले राम्रो चलचित्रको प्रतिक्षामा छन्।
विराज भट्ट

एक्सन नायकका रुपमा ‘अग्निपथ’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेका नायक हुन, विराज भट्ट। यी नायक अहिले नेपाली चलचित्रबाट टाढा छन्। कुनै समय उनको स्टारडमकै कारण चलचित्र सफल हुन्थे। किस्मत, देवरवावु, हामी टयाक्सी ड्राईभर, अग्निज्वाला, नैना रेशम, दादागिरी, तकदीर, कहाँ छौं कहाँ, विराज अभिनित सफल चलचित्र हुन्।

नेपाली चलचित्रमा जमिरहेका बेला उनले नेपाली चलचित्र छाडी भोजपुरी रोजे। पछि पुनः नेपाली चलचित्रमा फर्किए –चलचित्र’ जय पर्शुराम’मार्फत। तर उक्त चलचित्रले उनको स्टारडम बिकाएन । त्यसैले पनि अहिले पुन उनि भोजपुरी चलचित्रतिर लागेका छन्। राम्रो नेपाली चलचित्रमा काम गर्ने अवसर पाए पुनः नेपाली चलचित्रमा फर्केने विराज बताउँछन्।
शिव श्रेष्ठ

कुनै समय नायक शिव श्रेष्ठ दर्शकले रुचाइएका नायकमा पर्थे। आमा, चिनो, ठूल्दाई, स्वर्ग, कान्छी, देशद्रोही जस्ता दर्जनौं सफल चलचित्र दिएका शिव चलचित्र ‘राजु राजा राम’ पछि लामो समय ग्यापमा रहे। लामो समयको ग्यापपछि गतवर्ष चलचित्र ‘वागमति’बाट कमव्याक गरे।

तर उनको कमव्याक सफल रहेन। उनि अभिनित चलचित्र ‘बागमती’ले निराशाजनक व्यापार गर्याे। चलचित्र असफल भएसँगै निराश देखिएका शिव अहिले आफ्नै निर्माणमा चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को तयारीमा छन्।

जीवन लुइँटेल
अहिले चलचित्र क्षेत्रबाट टाढा रहेका अर्को नायक हुन जिवन लुइँटेल। पछिल्लो समय उनि चलचित्रमा देखिन छाडेका छन्। चलचित्र ‘तिर्खा’ बाट सिने नगरीमा प्रवेश गरेका जीवनले थुप्रै सफल चलचित्र दिएका छन्। उनले अभिनय गरेका नाइँ नभन्नू ल, सानो संसार, नसिव आफ्नो, म तिम्रो भैसकेँ, रिदम, अन्दाज, दीपशिखा, ठूली, मालतीको भट्टी, स्टुपिड म, राधा, आदि सफल चलचित्रको सूचीमा पर्छन्।

यी बाहेक उनी दर्जन बढी चलचित्रमा अभिनय गरेका छन्। उनी अभिनित पछिल्लो चलचित्र ‘लेक साइट’ हो। ‘काफल पाक्यो’, ’भुलभुलैया’, ’सुब्बा साप’ र ‘लेक साइट’ लगातार असफल भएपछि उनले अन्य चलचित्रमा अभिनय गरेका छ्रैनन्। त्यसैले जिवन अहिले चलचित्र बजारमा गुमनाम नायकको सूचिमा पर्छन्।

दिलीप रायमाझी

आजभन्दा डेढ दशक अघिका निकै व्यस्त मानिने नायक दिलीप रायमाझी ‘भानुभक्त’ चलचित्रबाट सिने नगरीमा प्रवेश गरेका हुन्। दर्पण छायाँ, धन सम्पत्ति, मुगलान, लहना, मितिनी, बन्धकी, भरोसा, आफ्नो मान्छे, दुःख, दुईपल जस्ता सफल चलचित्रमा अभिनय गरेका दिलीप पछिल्लो समय चलचित्रबाट टाढा छन्।

चलचित्र क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका र नेपालमा डान्स जान्ने नायकका रुपमा दिलीप परिचित छन्। उनी अभिनित पछिल्ला चलचित्र ‘बाटोमुनीको फूल–२’ र ‘गोरे’ असफल भयो। अहिले पुनः उनले अभिनय गरेको अर्को चलचित्र ‘रमिता’ प्रदर्शनमा आउने तयारीमा छ। यो बाहेक दिलीप अन्य चलचित्रमा देखिएका छैनन्। केही म्युजिक भिडियोमा भने दिलिप देखिरहन्छन्।
रमित ढुंगाना

नायक रमित ढुंगानाको ज्यानकै तारिफ हुन्थ्यो चलचित्र बजारमा। लामो कपाल, अग्लो शरीर उनको पहिचान थियो। कुनै समय नेपाली दर्शकले धेरै रुचाइएका नायकमा पनि रमित पर्थे । देवर बाबु, धड्कन, मुगलान, हिम्मत, मनमा माया, माया नमार, दुर्गा, जिवनदाता, सहारा, हामी ट्याक्सी ड्राइभर जस्ता चलचित्र रमितका सफल चलचित्र हुन्।

तर, उनी पछिल्ला वर्ष चलचित्रमा देखिएका छैनन्। पछिल्लो समय ‘बुद्ध बर्न इन नेपाल’ चलचित्रबाट पुन नेपाली चलचित्रमा उदाएका उनको चाहाना उक्त चलचित्रले आफूलाई टिकाइराख्छ भन्ने थियो। तर, चलचित्र नचलेपछि रमित कुनै चलचित्रमा देखिएका छैनन्। हाल काठमाडौंमै रहेका रमित राम्रो ब्यानरको चलचित्रको प्रतिक्षामा छन्।

राजवल्लभ कोइराला
कुनै समय चलचित्र क्षेत्रमा रुचाइएका अर्को नायक हुन् राजवल्लभ कोइराला। तर, अहिले उनी चलचित्र क्षेत्रबाट टाढा छन्। लामो समयदेखि उनका चलचित्र दर्शकले हेर्न पाएका छैनन्। पोखराबाट सञ्चारकर्मी हुँदै चलचचित्र क्षेत्रमा प्रवेश गरेका यी नायकले पर्खी बसें, छोडी गए पाप लाग्ला, किन लाग्छ माया, पल, अपवाद, मसान लगायतका चलचित्रमा अभिनय गरेका छन्। उनले हलिउड चलचित्र ‘हाइवे टु धम्पुस’ मा समेत अभिनय गरिसकेका छन्।

उनको पछिल्लो चलचित्र ‘ऋतु’ ले पनि नेपाली दर्शकमाझ राम्रो व्यापार गर्न सकेको थिएन। पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका उनले एक वर्ष अघिमात्रै अमेरिकामै विवाह गरेका छन्। यी नायक पछिल्लो समय नेपाली चलचित्रबाट बिरानो बन्दै गएका छन्।

धिरेन शाक्य
२ दशक अघि चलचित्रमा सर्वाधिक व्यस्त हुने नायक हुन धिरेन शाक्य। उनी पछिल्लो समय चलचित्रमा देखिएका छैनन्। चलचित्र सिमाना, जीवनदान, मैले भुल्नै सकिन, दाग, चट्टान, चिनो, सीमाना, देश परदेश, अजम्बरी माया, अर्जुन, इन्साफ, जनम जनम, दुष्मनी, ज्वालामुखी, क्रोध लगायतका धिरेन अभिनित चलचित्र हुन्।

राम्रो अभिनयका साथै फिटनेसका कारण पनि उनि चर्चामा रहन्थे। कुनैबेला एकदमै चर्चित यी नायक अहिले भने लगभग गुमनाम बनिसकेका छन्। म्युजिक भिडियोमा भने फयाट्टफुट्ट आइरहने धिरेन अहिले आफ्नै निर्माण र निर्देशनमा चलचित्र बनाउने तयारीमा रहेको बुझिएको छ।

सुशील क्षेत्री
दर्शकले बिर्सनै नसक्ने अर्को नायक हुन् सुशील क्षेत्री। उनी कुनै बेलाका व्यस्त नायक हुन्। पछिल्लो समय उनी चलचित्र क्षेत्रबाट हराउँदै गएका छन्। गतवर्ष उनी अभिनित चलचित्र ‘बीचबाटो’ प्रदर्शनमा आएको थियो। उक्त चलचित्र असफल भएपछि सुशील अन्य चलचित्रमा देखिएका छैनन्। बीचबाटो अघि उनी अभिनित चलचित्र ‘आगो २’ पनि असफल भएको थियो।

त्यसकारण पनि सुशीललाई अहिले राम्रो व्यानरको चलचित्रको आवश्यक छ। आगो, उपहार, मुस्कान, धन सम्पत्ति, भाइ, के भो लौन नि, शहिदगेट, अनाथ उनी अभिनित सफल चलचित्र हुन्। चलचित्र क्षेत्रमा व्यस्त बन्दै गर्दा लामो रेशको घोडाका रुपमा हेरिने सुशील अहिले गुमनाम छन्।
उत्तम प्रधान

दर्पण छाँया, उपहार, लहना, दुई किनारा, चित्कार, अजम्बरी माया, मितिनी, मलाई माफ गरिदेउ जस्ता ब्लकबस्टर चलचित्रमा अभिनय गरेका अर्का नायक उत्तम प्रधान पनि पछिल्लो वर्ष चलचित्र क्षेत्रबाट गुपनाम छन्। टेलिसिरियल मुक्ति र ब्लकबस्टर चलचित्र दर्पण छायाँमा अभिनय गरेर चर्चामा पुगेका उत्तम काम राम्रो हुँदाहुँदै पनि पलायन भएका थिए।

पाँच वर्षअघि चलचित्र इसाराबाट उत्तमले नेपाली चलचित्रमा कमब्याक हुन खोजे। तर समय र परिस्थती उनले सोँचे जस्तो थिएन। फलस्वरुप उनको इसाराले कमाल गर्न सकेन। त्यसबीचमा उनी कुनै निर्माता निर्देशकको नजरमा परेनन्। सुन्नमा आए अनुसार उनी राम्रो ब्यानरमा नेपाली चलचित्रमा फेरि काम गर्न इच्छुक छन्। त्यसैको लागि पछिल्लो समय उनी बेलाबखतमा नेपालमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आइपुगेका हुन्छन्।

मुकेश ढकाल

कुनैबेला नायक मुकेश ढकाललाई पनि नेपाली चलचित्रमा लामो रेशको घोडाका रुपमा लिइन्थ्यो। हलचल चलचित्रबाट डेब्यू यी नायक किस सिनका कारण पनि चर्चामा आउँथे। हाम्रो माया जुनी जुनीलाई, आफ्नो मान्छे आफनै हुन्छ, निगरानी, मनमनै मन पराए, पर्खि राख है जस्ता चलचित्रमा अभिनय गरेका यी नायकका लभस्टोरी चलचित्र दर्शकले औधी रुचाएका थिए। यी नायक अहिले भने चलचित्र क्षेत्रबाट टाढा छन्। उनी हाल अमेरिकामा बस्दै आएका छन्।

आयूष रिजाल

चलचित्र ‘हिफाजत’बाट नेपाली रजतपटमा डेब्यू गरेका नायक हुन–आयूष रिजाल। एक्सन नायकका रुपमा उदाएका आयूषको सुरुवातमा तारिफ पनि भयो। आयूषले सडक, मेरो मनको साथी, खुसी, दिलमा सजाए तिमीलाई, पाप, सौभाग्य, चन्द्रावती लगायतका चलचित्रमा काम गरे। अहिले आयूष कुनै चलचित्रमा देखिएका छैनन्। पछिल्लो समय उनि ‘ब्ल्याक’ मा अभिनय गरेका छन्। तर पनि यो चलचित्र कहिले प्रदर्शनमा आउने हो ढुंगो छैन। उनी पनि राम्रो चलचित्रको प्रतिक्षा गरिरहेका छन्।