सिरहा : निर्वाचन कार्य तालिका अनुसार सोमबार मध्यरातबाट मौन अवधि चलिरहेको छ । तर, यहि बेला जिल्लामा मत खरिद बिक्रीको खेल शुरू हुन थालिसकेको छ ।औरही गाउँपालिका ५ का रमन यादव मौन अवधिमै दलित र विपन्न समुदायका मत खरिद गर्न सौदाबाजी शुरू हुने बताउँछन् । ‘स्थानीय तहको निर्वाचनमा मौन अवधिमै चुनावी आकलन उलटफेर भयो’, यादवले भने, ‘मौन अवधिमै पैसा बाँड्ने खेल हुन्छ । त्यसैले उम्मेदवारहरूले अझैं मतदाताको घरदैलो चाहार्न छोडेका छैनन् ।’
वाम गठबन्धन बनेपछि सिरहा १ र ४ मा दुई ‘हेविवेट’ नेतालाई पनि चुनाव जित्न समस्या छ । ती उम्मेदवारले खासै घरदैलोसमेत गरेका छैनन् । तर, चुनाव जित्ने दाबी गरिरहेका छन् । अन्तिम अवस्थामा पनि नतिजा उलटपुलट हुने कारण मतदानको अघिल्लो रात हुने ठूलो रकमको चलखेल नै हो ।
रकम बाँडेर चुनाव जित्न खोज्ने उम्मेदवारको योजना सफल हुन नदिन कतिपय राजनीतिक दलका उम्मेदवारले रातिको समयमा युवाशक्ति नै परिचालन गर्ने तयारीमा छन् । उनीहरूले स्थानीय कार्यकर्तालाई रातभर जाग्राममा बस्न निर्देशन पनि दिएका छन् । मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने भएपनि प्रतिस्पर्धी उम्मेदवारले आधार क्षेत्रमा चलखेल गर्न सक्ने भएकाले दुई रात जाग्राम बस्न युवा शक्ति परिचालन गरेको एक उम्मेदवारले अन्नपूर्णसँग भने ।
स्थानीय तहको निर्वाचनमा उम्मेदवार बढी हुँदा खर्च पनि बढी नै भयो । वडाध्यक्षका एक उम्मेदवारले २० लाख रूपैयाँसम्म खर्च गरेको चर्चा जिल्लामा निकै चल्यो । अर्नमाका रविन्द्र यादव भन्छन्, ‘स्थानीय तहको चुनावमा मतदाताले खुबै मासुभात खान पाए । यो निर्वाचनमा भने खान पाएका छैन् । तर, मतदानको अघिल्लो रात रकम बाँड्ने कुरा सुनेको छु ।’ ‘स्थानीय चुनावमा उम्मेदवारहरूले यति मलखाद बाँड्यो कि एकै रातमा खेतको फसल हरियाली बन्यो’, उनले भने । उनको आशय पैसा बाँडेपछि चुनावी नतिजा रातारात फेरबदल नै भयो ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत शंकरलाल कर्णले मत खरिद बिक्री हुन नदिने प्रयासमा लागेको बताए । उनले भने, ‘गुपचुप तरिकाले रकम लेनदेन हुन्छ भने हामी केही गर्न सक्दैनौं । तर, त्यस्तो हुन नदिने किसिमले हामी परिचालित हुन्छौं । रंगेहात पक्राउ पर्दा भने कानून बमोजिम कारबाही हुन्छ ।’ उनले रातिको समयमा नेता अर्थात् उम्मेदवारले कतिसम्म रकम लिएर हिड्न पाउँछ भन्नेमा अनभिज्ञता जनाए । उनले कतिसम्म रकम लिएर हिड्न पाउने कुरा आचारसंहितामा कतै उल्लेख नभएको बताए ।
निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचार प्रसारलगायत निर्वाचन सम्बन्धी कुनै पनि गतिविधि गर्न पाउँदैन् । तर, सिरहामा केहि राजनीतिक दलका उम्मेदवारहरू आचारसंहिताको धज्जी उडाएको देखिन्छ । अझैं गाडीमा चुनाव चिह्न अंकित झन्डा फहराउँदै मतदाता फकाउन अन्तिम कसरत जारी राखेका छन् ।
मंगलवार दिउँसो करिब १ बजे मसाल अंकित झन्डा फरराउँदै संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा ३ ‘ख’ का उम्मेदवार मनोज सिंह भेटिए । उनी अहिले पनि चुनाव प्रचारप्रसार गर्न छाडेका छैन् । तर, टेलिफोनमा उनले भने, ‘झन्डा लगाएको गाडी चढेकै छैन ।’
उम्मेदवार सिंह त उदाहरण मात्र हुन् । यस्ता कयौं उम्मेदवार अहिले पनि मतदाताको घरदैलो चहार्न छाडेका छैन् । यतिबेला मौन अवधि चलिरहेका बेला पनि गुपचुप रूपमा मत आफ्नो पोल्टामा पार्ने कसरतमा स्थानीय भने आर्थिक चलखेलका रूपमा हेर्न थालेका छन् ।