
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छुट्याइएकाे छ ।
हिजो विभिन्न पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता लिन चाहेमा आज बिहान ११ बजेसम्मका लागि समय तोकिएको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ । त्यस्तै महामन्त्रीमा ६ जना, सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवा उम्मेदवार हुनुहुन्छ भने संस्थापन इतर समूह विभाजित भएको छ । यो समूहबाट प्रकाशमान सिंह र डा. शेखर कोइराला प्यानलसहित मैदानमा उत्रिएका छन् । त्यस्तै, विमलेन्द्र निधिले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभयो । कल्याण गुरुङ र युवराज न्यौपाने पनि सभापतिको उम्मेदवार बन्नुभएको छ ।
केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५ सय ४८ जना उम्मेदवार छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।