268 views 1 sec 0 comments

गुण्डागर्दी गरी ९० लाख २५ हजार रुपैयाँ असुली गरेको अभियोगमा दुई जनालाई पक्राउ

In समाज
२२ मंसिर २०७८, बुधबार ०७:५६

गुण्डागर्दी गरी ९० लाख २५ हजार रुपैयाँ रकम असुली गरेको अभियोगमा प्रहरीले दुई जनालाई काठमाण्डौबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुकेधारा बस्ने ४० वर्षीय मिलन जोशी र बालुवाटार बस्ने दोलखा भीमेश्वर नगरपालिका–५ माटी ठेगाना भएका रवीन्द्र बस्नेत रहेका छन् ।
उनीहरुले पानीपोखरीको युनिभर्सल इन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकलाई आफूहरू त्यस क्षेत्रको ‘दादा’ भएको भन्दै विदेश पठाएका व्यक्तिहरूबाट लिएको रकममध्येको कम्तीमा प्रति–व्यक्ति २५ हजार रुपैयाँका दरले कमिसन लिने गरेका थिए ।
यही मङ्सिर १६ गते कम्पनीका सञ्चालक, सञ्चालकको श्रीमती र कर्मचारीसमेतलाई ज्यान मार्ने धम्की दिइ थप रकम माग गर्दै हातपातसमेत गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाण्डाै मित्रपार्कबाट पक्राउ गरेको हो । उनीहरूलाई आपराधिक लाभ लिएको कसुर मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डाै पठाइएको महाशाखाले जनाएको छ ।