कोरोनाबाट अभिभावक गुमाएकालाई मासिक पाँच हजार राहत वितरण सुरु…

In आर्थिक, देश
११ मंसिर २०७८, शनिबार १२:५५

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक पाँच हजार रुपैयाँ राहत वितरण सुरु गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले महामारीबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययन/अध्यापनका लागि मासिक राहत रकम उपलब्ध गराउने व्यवस्था चालु वर्षको बजेट कार्यक्रममा समावेश गरेको थियो ।
सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएर बालबालिकाको तथ्याङ्क सङ्कलन गरी कागजात पुग्नेलाई हिजाे रकम हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राहत रकम हस्तान्तरण गर्नुभएको थियो । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति ६० हजार रुपैयाँ सहयोग प्रदान गर्न लागेको हो । प्रदेशमा स्थायी बसोबास गर्ने र कोरोनाबाट ज्यान गुमाएका नागरिकका छाेराछाेरीले यो रकम प्राप्त गर्नेछन् ।
पहिलो चरणमा कोभिडबाट ज्यान गुमाएका ३९ जनाका ६० बालबालिकालाई राहत वितरण गरिएको संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मन्त्रालयमा १७० जनाको नाम प्राप्त भएकामा आठ जनाको १८ वर्ष उमेर पुगेको र बाँकी एक सय ६२ जनमध्ये एक सय २ वटा निवेदनको मापदण्डबमोजिम कागजात पूरा हुन बाँकी छ ।
बाँकी कागजात माग गरिसकिएको र त्यसपछि उनीहरुलाई पनि राहत रकम प्रदान गरिने मन्त्रालयले जनाएको छ । पहिलो किस्ताअन्तर्गत कात्तिक मसान्तसम्मका लागि ११ लाख पाँच हजार रुपैयाँ निकासा भएको मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।