
आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल पुनः राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा देखिएका छन् । निर्वाचन आयोगबाट बुधबार दलको मान्यता पाएसँगै ३० सांसदको बलमा उनको पार्टी संसद्मा चौथो ठूलो दल बनेको छ । सरकारलाई स्पष्ट बहुमत पुर्याउन, प्रतिनिधिसभाका कामकारबाही सहज बनाउन, संसद्को कार्यकाल पूर्ण बनाउन र प्रदेश सरकार निर्माणमा पनि उनको पार्टी निर्णायक हुने देखिन्छ ।
नेता नेपालले एमालेमै हुँदा प्रतिनिधिसभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने राजनीतिक र कानुनी संघर्षमा निर्णायक भूमिका खेलेका थिए । नेपाल नयाँ दलसहित गठबन्धनमा निर्णायक शक्तिका रूपमा देखिएका छन् । नेपालको भूमिकालाई उच्च मूल्यांकन गर्दै शक्ति बाँडफाँडमा गठबन्धनले उनलाई प्राथमिकतामा राखेको छ ।
तत्कालीन प्रधानमन्त्री ओलीले ८ जेठमा दोस्रोपटक संसद् विघटन गरेपछि एमालेकै नेपाल समूहसहित पाँच दलको विपक्षी गठबन्धन बनेको थियो । २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै प्रधानमन्त्रीमा विपक्षी दलका नेता देउवालाई नियुक्त गर्न परमादेश दिएलगत्तै विपक्षी गठबन्धन सत्तागठबन्धन बनेको थियो ।