683 views 0 secs 0 comments

बस दुर्घटनामा परी ज्यान गुमाउने ४ मध्ये ३ जनाको सनाखत…

In समाज
२२ फाल्गुन २०७६, बिहीबार १४:२९

मकवानपुरको गढी गाउँपालिका–२, गौरी भञ्ज्याङमा बुधबार बेलुका भएको बस दुर्घटनामा परी ज्यान गुमाउने ४ मध्ये ३ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, घटनामा गढी गाउँपालिका–२, गौरीभञ्ज्याङका ३५ वर्षीय सोमबहादुर रुम्बा, २८ वर्षीय सोम बहादुर मोक्तान र गढी गाउँपालिका–७ का २४ वर्षीय सुरज लोको मृत्यु भएको खुलेको छ । दुर्घटनामा परी ज्यान गएका अर्का २५ वर्षीय युवकको भने सनाखत हुन सकेको छैन ।
जीतपुर भञ्ज्याङबाट सुकौरातर्फ जन्ती लिएर जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस बेल फ्रेक भएर बुधबार बेलुका ७ बजे दुर्घटना भएको हो । दुर्घटनामा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स अस्पतालमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेमध्ये १९ जनाको चुरेहिल अस्पतालमा, ३ जनाको हेटौंडा अस्पतालमा र ४ जनाको कलेज अफ मेडिकल साइन्स अस्पताल, भरतपुरमा उपचार भइरहेको छ ।