646 views 1 sec 0 comments

प्रहरीले गोली हानेका मिलन, रामेछापमा धम्क्याउँदै असुली धन्दा…

In देश, समाज
२४ श्रावण २०७६, शुक्रबार १५:३०

मिलन तामाङले लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई एक महिनादेखि धम्की दिन थालेका थिए। चिन्दै नचिनेका तामाङले दुई करोड माग्दै खड्कालाई रातदिन फोनमा दुखः दिन थालेका थिए।‘मैले चिनेको मान्छे हैन, एकैचोटी फोन आउन थाल्यो,’ खड्काले भने, ‘दुई करोड नदिए कहिले छोरा त कहिले छोरी मार्छु भन्दै फोन आइरहन थाल्यो।’
वडा नम्बर ३ मा स्थायी बसोबास रहेका खड्का कसैले माग्दैमा त्यत्रो पैसा दिने हैसियतका पनि हैनन्। ‘म घरमा बस्न नसक्ने अवस्था आएपछि प्रहरीमा खबर गरेको थिएँ,’ उनले भने।

शुक्रबार तिनै ३० वर्षीय तामाङलाई पक्रन प्रहरीले राजधानीमा दुई गोली चलायो।  दुबै घुँडामा गोली हानेर तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो।तामाङ रामेछाप मन्थली नगरपालिका-११ का हुन्। उनी धम्क्याउँदै लुटपाट मच्चाउँदै आएका व्यक्ति रहेको महाशाखाले जनाएको छ। तामाङ कहिले रामेछाप त कहिले काठमाडौंबाट अध्यक्ष खड्कालाई धम्क्याउने गरेका थिए।‘उसको मोबाइल कल ट्रयाक गर्दै जाँदा शुक्रबार लोकेसन स्वयम्भूतिर देखियो,’ महाशाखा प्रमुख एसएसपी सहकुल थापाले भने, ‘हाम्रो टोली त्यतैतिर मुभ भयो।’

अनुसन्धान टोलीले बिजेश्वरी हाउजिङको एउटा क्याफेमा तामाङलाई भेट्टायो। प्रहरीले पक्रन खोज्दा तामाङ भाग्न खोजेका थिए। ‘भाग्न खोजेपछि प्रहरी टोलीले गोली चलाएको हो,’ थापाले भने।महाशाखाका अनुसार रामेछाप आधारक्षेत्र बनाएर उनले धम्क्याउँदै असुली धन्दा चलाइरहेका थिए।उनले लिखु हाइड्रेपावरबाट २० लाख र स्थानीय सडक ठेकेदारबाट ३० लाख रुपैयाँ रकम धम्क्याएर असुलेको एसएसपी थापाले बताए।‘उनको आपराधिक धन्दाबारे खोजी भइरहेको छ,’ थापाले भने। गोली लागेका तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।