काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै जादूगरले जस्तो चमत्कार गरेर जनताको विकासको चाहना तत्कालै पूरा गर्न नसकिने बताएका छन् ।
काम गर्न समय लाग्छ, ठिकै हो । कुनै चमत्कार देखाउन आफू जादूगर नभएको प्रधानमन्त्रीको भनाइलाई अन्यथा पनि नलिउँ । तर प्रधानमन्त्रीले भनेजस्तो जनताले जादूगर चाहेका पनि हैनन् । सामान्य से सामान्य दैनिक जीवनमा प्रभाव पार्ने काम यो सरकारबाट जनताले अपेक्षा गरेका हुन् । जनताले प्रधानमन्त्री ओली नेतृत्वको यो सरकारबाट थोरै केही हुन्छ कि? भन्ने अपेक्षा चाँही गरेकै हुन् । अझै पनि त्यो आशाको त्यान्द्रो चुँडीसकेको छैन ।
ओलीले सत्ता सम्हाले पछि जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने आशालाग्दो केही काम यो सात महिनामा देखिएन । निरासाको पारो झन् पछि झन् बढ्दै गएको छ । चुनावमा व्यक्त भएको मतदाताको त्यो उत्साह अहिले सिथिल हुँदै गएको छ । जनताको कुरा छाडौँ, नेकपा पार्टी भित्रै उत्साह मरेर गएको छ । त्यो कहिले भीम रावलबाट मुखरित हुन्छ, कहिले विरोध खतिवडा बनेर कहिले माधव नेपालबाट ।
सरकारको काम देखिन सक्थ्यो कलंकी-नागढुंगा सडकमा । के कलंकी-नागढुंगा बाटो बनाउन ७ महिना प्रयाप्त थिएन ? बालुवाटार गद्दीमा खबरहरू पुग्दैनन् ? ताजा खबर त के छ भने– दशैँको सवारी चापमा कलंकीदेखि नौवेसे उतासम्मको यात्रा यतिबेला सबैभन्दा ठूलो सजाय भएको छ । यो सरकारले दिएको सजाय भनेर हरेक यात्रु छट्पटीमा बरबराएका छन् । के यी समस्या समाधान गर्न जादूगर चाहिने हो ?
चावहिल जोरपाटीको सडक सुधार्न कतिबर्ष कुर्नु पर्ने ? यी त राजधानीका कुरा भए, दूरदराज गाउँका कुरै नगरूँ ।
यो सरकारले जादू चलाएर महँगी घटाउँछ भन्ने अपेक्षा त कसैको पनि थिएन । तर यतिबेला प्रश्न जरूर छ– चाडवाडका बेलामा दाल, चामल, चिनीको भाउ किन आकाशियो ? पेट्रोल र नुन तेलको भाउ स्थिर मात्रै राख्न सकेको भए पनि धन्य हुन्थ्यो । दिन दुइगुना, रात चौगुना बढेको छ महँगी । कालोबजारीलाई छुन सकेको छैन यो सरकारले । कृषि उपजमा बिचौलीयाको खुलेआम ठगी छ, किसान मरेको छ, उपभोक्ता लुटिएको छ । यी बेथिती हेर्दा स्वाभाविक प्रश्न आउँछ– के सात महिनामा जनतालाई महसुस हुने केही गर्नै सकिदैनथ्यो यो सरकारले ?
निर्मलाको न्यायको कुरा अब त अति भैसक्यो । सरकारले लाज पचाइसक्यो । सिन्डिकेट हुँदै ठेकेदार कारवाही देखि सुनकाण्डमा देखिएको तत्परता कुन ताकतले खल्बल्यायो ? त्यो जनताले चिन्न पाउँदैन प्रधानमन्त्रीज्यू ?