मंसिर १३, २०७४-दक्षिण भारतका सस्ता खालका होटलमा बसेर होटलका टेलिभिजन चोरेको आरोपमा भारतीय प्रहरीले बैंगलोरबाट एक जनालाई पक्राउ गरेको छ । उनले चार महिनाको अवधीमा एकसय २० टेलिभिजन चोरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार वासुदेव ननैया नामक ति पुरुषको भद्र र शालिन स्वभावका कारण होटलका कर्मचारीले उनले टेलिभिजन चोरेका हुन् भनेर शंकासमेत गर्दैनथे ।
प्रहरीका अनुसार ननैया मध्यम खालको सुटकेश बोकेर होटलमा बस्थे ।
उनी अक्टोबर महिनामा पनि होटलबाट टिभी चोरी गरिरहेको बखत पक्राउ परेका थिए र लगत्तै धरौटीमा रिहा भएका थिए ।
प्रहरीका अनुसार रिहा भएको केही दिनपछि नै उनले पुन: टिभी चोर्न थालेका थिए ।
प्रहरीका अनुसार होटलको कोठाको टिभी आफ्नो सुटकेशमा नअट्ने जस्तो देखिए उनी पुन: अर्को सुटकेश किनेर ल्याउथे र टिभी बोकेर निस्कन्थे ।
‘उनी हतार भएजसरी होटलबाट बाहिरिने र भित्रिने गरिरहन्थे जसकारण होटलका रिसेप्सनिष्टले समेत उनी टिभी बोकेर कतिखेर निस्किए याद नै गर्दैनथे,’ प्रहरीले भनेको छ ।
चोरेको टेलिभिजन बिक्री गर्न लाग्दा उनी अहिले पक्राउ परेका हुन् । उनले टेलिभिजन बिक्री गर्न खोजेको व्यक्तिले प्रहरीलाई जानकारी गराएका थिए ।
बैंगलोर प्रहरीले उनीमाथि २१ टिभी चोरी गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
उनमा मानसिक समस्या भएर पो यस्तो चोरी गरेका हुन् कि भन्ने बिषयमा अदालतले निक्र्यौल गर्ने प्रहरीको भनाई छ ।