हिउँ परेपछि हुम्ला सदरमुकाम सिमकोटका बिभिन्न स्थानमा भएका दृश्यहरु

सिमकोट: लामो समयदेखि पानी नपरेको हुम्लामा सोमबार यो वर्षकै पहिलो पटक हिमपात भएको छ। बिहान ६ बजे देखि सुरु भएको हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा १ फिट बढी हिउँ जमेको छ। हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा झरेको छ।
हिमपातले उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाविसमा जाडो बढेको छ।
हिउँका कारण चीनसँग सिमा जोडिएको उत्तरी गाविस लिमीका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुका छेपाल लामाले टेलिफोनबाट बताए। उनका अनुसार मुचुमा अहिलेसम्म झण्डै साढे २ फिट जति हिउँ जमेकाले घरबाट बाहिर निस्कन नसकिएको हो।
सदरमुकाम सिमकोटमा हिमपातले तापक्रम दिउँसै माइनस ५ भन्दा माथि पुगेको हुम्लाका प्रहरी प्रमुख कमलप्रसाद नेपालले बताए।
हिमपातले किसान खुसी
वर्षकै पहिलो हिउँ परेपछि गाउँका किसान भने खसी भएका छन् । गएको असोज अन्तिम सातादेखि राम्रोसँग पानी नपर्दा बारीमा छरेको गहुँबाली उम्रन नसकेकोमा दुख मनाउ गरिरहेका कृषकलाई भने यो हिमपातले खुसी बनाएको सिमकोटकी परेउकली रावतले बताइन्। जिल्लाको उत्तरी क्षेत्रमा हिमपात भएपनि दक्षिणी क्षेत्रमा भने पानी परेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए।
चिसोले प्रहरी चौकी सदरमुकाममा सारियो
हिमपातले अत्याधिक चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रमा भएका २ प्रहरी चौकी सरेका छन् । नेपाल चीन सिमानाको हिल्सा प्रहरी चौकी र लिमि चिसोले सरेको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रमुख कमलप्रसाद नेपालले जानकारी दिए ।