दाङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसाको बाटो नसमात्न कांग्रेस नेतृत्वलाई चेतावनी दिएका छन्। नेपाल पत्रकार महासंघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले हिंसाको बाटो समातिरहेको विप्लव माओवादीका गतिविधिलाई कांग्रेसले प्रशय दिइरहेको भन्दै हिंसाको बाटो नसमात्न आग्रह गरे।
दोलखामा विप्लव माओवादी र कांग्रेसको संयुक्त बैठक बसेर निर्वाचन बिथोल्ने निर्णय गरेको भन्दै ओलीले कांग्रेस नेतृत्वलाई चेतावनी दिदैँ भने,‘आफ्नो इतिहास समाप्त पार्ने गरी कांग्रेस अगाडि बढ्नु उसका लागि नै घाटा हुन्छ’ उनले भने,‘हिजो दोलखामा दुवै पार्टीको बैठक बसेर निर्वाचन बिथोल्ने निर्णय भएको कुरा समाचारमा आएको छ। यसले मलाई चिन्तित तुल्याएको छ। यसो गर्दा कांग्रेसको भविष्य अन्धकारमा पर्छ।’
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले पाँच नम्वर प्रदेश प्रमुख मिङमार लामालाई हटाउनुको कारणको खोजी गर्न जिल्लाबासीलाई आग्रह गरे। पटक-पटक यही प्रसंग दोहोर्याउँदै ओलीले भने,‘हतियारसहित समातिएका मान्छेलाई मुद्दा नचलाई छाड्न भनेर निर्देशन दिएर सरकारले कस्तो परिपाटीको थालनी गर्न खोजेको हो ? प्रहरी प्रमुखले हतियारसहित समातिएको मान्छेलाई छाड्न मिल्छ ? उनले प्रतिप्रश्न गरे।
हरेक ६÷६ महिनामा सरकार फरिने नियतिको अन्त्य गर्न गठबन्धन कायम गरिएको भन्दै अध्यक्ष ओलीले निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले सदाका लागि मुलुकको अस्थिरता अन्त्य गर्ने उनको भनाई थियो। बाम सरकारले जनजिविका सवाललाई प्राथमिकतामा राख्ने, भ्रष्टाचारको अन्त्य गर्ने, गरिवी न्यूनीकरण गर्नेलगायतका योजना रहेको सुनाए।
‘निर्वाचन जित्न गठबन्धन नभएको उनको भनाइ थियो। चुनाव जित्नका लागि गठबन्धन कायम भएको भन्दै कांग्रेसले भ्रम फैलाइरहेको भन्दै अध्यक्ष ओलीले मुलुकलाई समाजवादको दिशामा हिडाउन गठबन्धन कायम भएको जीकिर गरे।
पहिले सरकार कि पार्टी एकता भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष ओलीले भने, ‘पार्टी एकताका आधारहरु तयार भइसकेका छन्। औपचारिक घोषणा हुन मात्रै बाँकी छ। कतै पार्टी एकता हुँदैन कि भनेर नतर्सिनुहोस्। निर्वाचनपछि पहिले सरकार अनि पार्टी एकता हुन्छ।’