माओवादी अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकताले ०७ सालपछिकै सबैभन्दा ठूलो तरंग ल्याएको बताएका छन् ।
वाम गठबन्धन जिताऔँ अभियानले भरतपुरको चोकबजारमा गरेको ‘प्रचण्डसँग नागरिक समाज’ कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिस्ट एउटै भयो भन्नेबित्तिकै नेपालमा मात्र नभई विश्वजगत्मा नै ठूलो तरंग चलेको बताए । उनले भने, ‘०७ सालदेखि यता यस्तो ठूलो तरंग कहिल्यै पैदा भएको थिएन, यो बडो विचित्र छ, यस्तो तरंग न ०४६ सालमा चल्यो, न जनयुद्धको समयमा चल्यो, न जनआन्दोलनमै चल्यो ।’,खबर नयाँ पत्रिकामा लेखेको छ ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकताले कांग्रेस पनि खुसी हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए । उनले भने, ‘विभाजित शक्ति एकीकृत हुँदा त खुसी हुनुपर्छ, तर कांग्रेस किन खुसी भएन, यो पनि बडो विचित्र छ । बिपी र गिरिजाबाबु अहिले भएदेखि खुसी हुनुहुन्थ्यो ।’,
सुकुमवासीलाई अपार्टमेन्ट
पूर्वप्रधानमन्त्री प्रचण्डले सुकुमवासीलाई अपार्टमेन्टमा राखिने बताएका छन् । नागरिक समाजसँग उनले सुकुमवासीलाई जग्गा दिएर मात्र समस्या हल नहुने बताए । प्रचण्डले भने, ‘सुकुमवासीलाई अपार्टमेन्टमा राखेर उनीहरूलाई रोजगारीको ग्यारेन्टी गर्नुपर्छ ।’
उनले पहाड छेडेर चितवनमा पानी ल्याउन सम्भव भएको बताए । ‘यसका लागि बलियो हात बनाएर सिंहदरबार पस्नुपर्छ, तपाईंहरूले बलियो हात बनाएर पठाउनुपर्छ’ अध्यक्ष प्रचण्डले भने, ‘चितवनका नौ सांसद बलियो भएर गयौँ भने पाँच वर्षमा चितवनलाई एसियाली मापदण्डको नमुना सहर बनाउन सकिन्छ ।’