काठमाडौं: नेपालमा मासिक तीन लाखभन्दा बढी नयाँ सिम प्रयोगकर्ता थपिने गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले नयाँ सिम प्रयोगकर्ता मासिक तीन लाखका दरले थपिँदै गएको जानकारी दिएको छ।
एनटीएले सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्लो पाँच महिनामा प्रतिमहिना तीन लाखभन्दा बढी ग्राहक थपिएको उल्लेख छ । भदौमा मात्र नेपाल टेलिकम, एनसेल र स्मार्टसेका गरी तीन लाख ७० हजार पाँच सय ९८ वटा सिम वितरण भएको छ । साउनमा कुल तीन करोड ४५ लाख ५७ हजार र भदौमा तीन करोड ४८ लाख ७६ हजार सिम वितरण भएको छ । साउनमा असारको तुलनामा तीन लाख ३३ हजारभन्दा बढी सिम बिक्री भएको देखिन्छ ।
असारमा तीन करोड ४१ लाख ७२ हजार सिम वितरण भएको थियो । असारमा जेठको तुलनामा तीन लाख तीन हजार र जेठमा वैशाखको तुलनामा तीन लाख ६८ हजार बढी सिम वितरण भएको छ । किनभने जेठ र वैशाखमा क्रमशः तीन करोड ३८ लाख ६८ हजार र तीन करोड ३५ लाख मोबाइल फोन सब्स्क्राइब भएको छ । यो क्रम गत चैतबाट वैशाखमा आउँदा पनि त्यस्तै देखिएको छ । वैशाख महिनामा चैतभन्दा दुई लाख ९२ हजार बढी मोबाइल फोन सेवा सब्स्क्राइब भएको प्रतिवेदनमा उल्लेख छ ।
यही मोबाइल फोन सेवा सब्स्क्राइब भएका आधारमा एनटीएले कुल जनसंख्याको एक सय ३१.६४ प्रतिशतमा मोबाइल सेवाको पहुँच पुगिसकेको देखाएको छ । तर, मासिक रूपमा अझै पनि तीन लाखभन्दा बढी नयाँ ग्राहक थपिनुले उक्त तथ्यांक माथिनै प्रश्न उठाएको छ । ‘तथ्यांकले कुल जनसंख्याको एक सय ३१ प्रतिशत मोबाइल सेवाको पहुँच पुगको देखाए पनि यथार्थमा त्यो तथ्यांकमा मात्र सीमित हो’, प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले भने, ‘उक्त तथ्यांक फोनको पहुँचभन्दा पनि सिम बिक्रीका आधारमा तयार पारिएको हो । मासिक तीन लाखभन्दा बढी नयाँ सिम बिक्री हुनुले फोन प्रयोग नगर्ने मानिसको संख्या अझै धेरै रहेको देखाउँछ ।’
खनालका अनुसार, यो संख्यामा नयाँ मोबाइल फोन प्रयोगकर्ता थपिनुको पहिलो कारण अहिलेसम्म पनि सबै स्थानमा मोबाइल सेवा नपुग्नु हो । पहुँच नपुगेका ठाउँमा पछिल्लो सयम सेवा प्रदायक कम्पनीले सेवा विस्तार गरिरहेका छन् । सेवा विस्तार भएसँगै सिम प्रयोगकर्ता बढ्नु स्वभाविक पनि हो । ‘दोस्रो, पहिला मान्छेलाई मोबाइल लग्जरी जस्तो लाग्थ्यो’, उनले भने ,‘तर अहिले आवश्यकता बनेको छ । सबैले प्रयोग गर्न थालेपछि प्रयोग नगर्नेले पनि प्रयोग गर्न थालेका छन् ।’ अर्को कुरा ४५ लाख नेपाली विदेशमा छन् । उनीहरूलाई उपहारका रूपमा पठाउन सजिलो भनेको मोबाइल हो । ‘नयाँ मोबाइल पाएसँगै त्यसका लागि सिम किन्नु पर्यो’, उनले थपे ।
‘त्योभन्दा पनि महत्वपूर्ण कुरा नयाँ सेवा प्रदायक कम्पनी थपिनु पनि हो’, वरिष्ठ निर्देशक खनालले भने, ‘नयाँ सेवा प्रदायक कम्पनीले सेवा विस्तार गरिरहेका छन् । जस्तो स्मार्टसेल आयो । पहिले क्षेत्रीय रूपमा सेवा विस्तार गरेको स्मार्टसेलले राष्ट्रिय रूपमा सेवा विस्तार गरेसँगै काठमाडौं, पोखरालगायत स्थानमा फोरजी सेवा सुरुवात गर्यो । प्रतिस्पर्धाका लागि अब सहुलियत मूल्यमा उसले सेवा विस्तार गर्छ ।
यस्तोमा अरूको सेवा प्रयोग गरिरहेका ग्राहकले स्मार्टसेलको सेवा पनि लिने भए ।’ कम्पनीले पनि नयाँ सिमकार्ड खरिद गर्दा विभिन्न योजना दिने गरिनेछन् । सस्तोमा योजनासहितको सिम किन्न पाएपछि ग्राहक सिम किन्ने अफर प्रयोग गर्ने अनि फाल्ने गर्छन् । यसले पनि मोबाइल फोन सेवा सब्स्क्राइब गर्ने ग्राहकको संख्या बढ्दै गएको हो ।