तेह्रथुम : तेह्रथुममा प्रदेशसभा सदस्यका उम्मेदवारहरूको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। क्षेत्र नम्बर १ मा कांगे्रसका जिल्ला सभापति गोविन्द ढुंगाना र एमालेका जिल्ला अध्यक्ष लक्ष्मण तिवारी उम्मेदवार छन्। उनीहरू जिल्लाको पर्यटन प्रवद्र्धनमा लागेका सहकर्मी हुन्।
दुवै जना यसअघि आफूले गरेका काम र भावी एजेन्डासहित मतदाता रिझाउने अन्तिम प्रयासमा छन्। पर्यटन, शिक्षा, सडकलगायत विकासका काममा सहकार्य गरेका यी दुई राजनीतिक समकक्षी एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवार भएपछि मतदाता भने कसलाई मत दिने भन्ने अन्योलमा देखिएका छन्। ‘तेह्रथुमको विकासका लागि दुवैको योगदान उत्तिकै छ, कसलाई जिताउने भन्ने हामीलाई नै अन्योल भयो’, म्याङ्लुङ नगरपालिकाका ७५ वर्षीय प्रेम सम्बाहाम्फेले भने।
ढुंगानाको म्याङलुङ बजार र तिवारीको बसन्तपुर बजारमा घर छ। यो निर्वाचन क्षेत्रमा म्याङलुङ र लालीगुराँस नगरपालिका अनि छथर गाउँपालिका पर्छन्। स्थानीय निर्वाचनमा दुई तहमा एमाले र एकमा कांग्रेस विजयी भएका थिए। कांग्रेस जिल्ला सभापतिको बसोबास रहेको म्याङलुङ नगरपालिकामा एमाले र एमाले जिल्ला अध्यक्षको घर रहेको लालीगुराँस नगरपालिकामा कांग्रेसले मेयर पद जितेका थिए।
जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा दुवै नेता एउटै संस्थामा बसेर कामसमेत गरिरहेका छन्। ढुंगाना पर्यटन विकास तथा प्रवद्र्धन समिति तेह्रथुमका अध्यक्ष र तिवारी सोही संस्थाका महासचिव छन्। सडक, शिक्षा, खानेपानी, सिँचाइ र व्यावसायिक कृषिका माध्यमबाट जिल्लाको विकास गर्ने कांग्रेसको मुख्य चुनावी नारा छ। ‘तमोर जलाशययुक्त आयोजना निर्माण, अव्यवस्थित बजार व्यवस्थापन, ग्रामीण पर्यटनको विकास र व्यावसायिक कृषिको अभियानमा मेरो जोड छ’, ढुंगानाले भने। एमालेले भने सुख्खाग्रस्त क्षेत्रमा खानेपानी र सिँचाइको सुविधा उपलब्ध गराउने तथा ग्रामीण सडकहरूको स्तरोन्नति गर्ने एजेन्डा लिएको छ।
वाम गठबन्धनका तिवारीले सबैलाई स्वच्छ पिउने पानी, गाउँलाई सहरसँग जोड्ने सडक निर्माण, लालीगुराँस पर्यटन प्रवद्र्धन अनि आधुनिक प्राविधिक शिक्षालयको मुद्दालाई पनि प्राथमिकतामा राखेको बताए। पहिलेदेखि नै आफ्नो संगठन बलियो रहेको र अहिले माओवादी केन्द्रको साथ रहेकाले आफूले जित्नेमा ढुक्क रहेको उनको भनाइ छ। कांग्रेसले भने वाम गठबन्धनका कारण घेरै मतदाता असन्तुष्ट भएकाले त्यो मत आफूतिर आउने दाबी गरेको छ।
प्रदेशसभातर्फ क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट तेजमान कन्दङ्वा र कांग्रेसबाट विजय सम्बाहाम्फे उम्मेदवार छन्। कन्दङ्वा एमालेका पूर्वजिल्ला अध्यक्ष र सम्बाहाम्फे निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का केन्द्रीय अध्यक्ष हुन्। पूर्वी भेगका मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिका रहेको यो क्षेत्रमा पनि कांग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा छ।
कन्दङ्वालाई जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यमा सिफारिस गरे पनि केन्द्रीय कमिटीले प्रदेशसभा सदस्यको टिकट दिएको थियो। कांग्रेस उम्मेदवार सम्बाहाम्फे भने उम्मेदवार छनोटकै क्रममा कांग्रेस प्रवेश गरेका हुन्। माओवादी केन्द्रले जिल्लाबाट सर्वसम्मत रूपमा प्रतिनिधिसभाका लागि सिफारिस गरे उनले पनि वाम गठबन्धनपछि कांग्रेसमा प्रवेश गरी टिकट लिएका हुन्।
आठराई क्षेत्र र यहाँको शैक्षिक उन्नयनमा कन्दङ्वाको योगदान रहेको स्थानीय रामप्रसाद विष्ट बताउँछन्। सम्बाहाम्फेलाई भने प्याब्सनमा दुई दशकसम्म काम गर्दै अध्यक्षसमेत भएर निजी शैक्षिक संस्थाको कुशल व्यवस्थापक अनि राज्यका नीति निर्माणका साथै जिल्लाको पनि शैक्षिक क्षेत्रमा योगदान गर्ने नेताका रूपमा आफूले चिनेको विष्टको भनाइ छ। दुवै जनाले यो क्षेत्रको शैक्षिक उन्नयनको एजेन्डा लिएका छन्।
युवालाई स्वरोजगार बनाउन स्थानीय स्तरमै प्राविधिक तथा व्यावसायिक शिक्षालय स्थापना गर्ने मुख्य एजेन्डा रहेको सम्बाहाम्फेले बताए। सडक निर्माण, कृषिमा आधुनिकीकरण, वैज्ञानिक भूमि सुधार, हवाई मैदान, पर्यटन प्रवद्र्धनलाई कन्दङवाले प्रमुख मुद्दा बताएका छन्। स्थानीय निर्वाचनको परिणामलाई हेर्दा यो क्षेत्रमा एमाले बलियो छ। यहाँका तीनवटै गाउँपालिकाका प्रमुखमा एमाले उम्मेदवार विजयी भएका थिए।