काठमाडौं- नेकपा एमालेले निर्वाचन आचारसंहिताविपरीत सरकारका पछिल्ला कदमप्रति आपत्ति जनाउँदै कडाइका साथ हस्तक्षेप गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
आज बिहान बसेको एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले आचारसंहिताविपरीत राज्यकोष दुरुपयोग गर्ने र प्रशासनिक संयन्त्रलाई भताभुंग पार्ने कार्य तत्काल रोक्न सरकारसँग मागसमेत गरेको छ। बैठकले सरकारको हैसियत र सीमाभित्र रही काम गर्न सरकारलाई सचेत गराउन निर्वाचन आयोगसमक्ष मागसमेत गरेको छ।
आचारसंहिताको धज्जी उडाउँदै अनधिकृत रुपमा राज्यकोषको दुरुपयोगलाई निरन्तरता दिँदै निर्वाचनलाई प्रभावित पार्न प्रधानमन्त्रीको निर्देशनमा कांग्रेसका नेता कार्यकर्तालाई १६ करोडभन्दा बढी रकम बाँडिएको आरोप एमालेले लगाएको छ। निजामती तथा प्रहरी प्रशासनको संरचनामा अनावश्यक भद्रगोल सिर्जना गर्दै प्रहरीमा चार जना प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरी प्रहरी प्रशासनलाई अनावश्यक रुपमा भत्काउन खोजिएको दाबी एमालेको छ।
निर्वाचन परिचालन कमिटिका प्रवक्ता विष्णु रिजालद्वारा विज्ञप्तिमा भनिएको छ, ‘श्रृंखलाबद्ध रुपमा देशभर भइरहेको हिंसात्मक आक्रमण र विस्फोटको घटना नियन्त्रण गर्नुको साटो सरकार निरीह हुँदै गइरहेको छ। शान्ति सुरक्षा कायम गर्ने दायित्वबाट सरकार पूर्णत: विमुख मात्र बनिरहेको छैन त्यसले निर्वाचन आचारसंहिताको धज्जी उडाउदै अनधिकृत रुपमा राज्यकोषको दुरुपयोगलाई निरन्तरता दिएको छ।’