बुटवल : दुर्गा तिवारी हत्यापछि शोकको आँसु ओभाउन नपाउँदै देवदहवासीले अर्का व्यवसायी वसन्त पौडेललाई गुमाएका छन्। दिनदहाडै दुई युवाको हत्यापछि देवदहवासीमा शोकसँगै त्रास पनि बढेको छ। खैरनी बजारको दुई सय मिटर वारिपारि यी दुई युवाको घर छ। आफ्नै क्षेत्रमा व्यवसाय चलाउँदै आएका युवाको हत्याले परिवार मात्रै होइन, सिंगो नगर शोकाकुल बनेको छ।
दुई युवाको हत्याको जिम्मा देवदहकै अर्का युवा मनोज पुनले लिएका छन्। प्रहरी त्यही कुरामा भर परेर घुमिरहेको छ। देवदहवासीले जोसुकैले हत्या गरे पनि छानबिन गरी कारबाही गर्नुपर्ने माग गरिरहेका छन्।
प्रहरीको असावधानीका कारण देवदहले होनहार युवा गुमाउनुपरेको देवदह नगरपालिकाका मेयर हीरा केसी बताउँछन्। ‘अघिल्लो पटक दुर्गा तिवारीको हत्या भयो, अहिले बलुको। घटनामा संलग्नलाई समयमा कारबाही नहुँदा घटना दोहोरिएको छ’, उनले भने।
वसन्तको मृत्युपछि परिवारमा शोक छ। पत्नी सुमित्राको अझै आँसु रोकिएको छैन। आफ्नैअगाडि गोली लागी ढले पनि उनलाई बलु जीवितै रहेको विश्वास छ। सुमित्राको रोदनले देवदहलाई शोकमा डुबाएको छ। ‘अझै आँखा ओभाएको छैन। बोल्न सकेकी छैनन्’, एक जना आफन्तले भने। पौडेलका जेठा छोरा सैनिक स्कुलबाट एसईई परीक्षा तयारी गर्दै छन्। सानो छोरा र काखे छोरी देवदहकै स्कुलमा पढ्छन्। ‘मैले त छोरा गुमाएँ। अब फर्केर आउँदैन, अरूले पनि अनाहकमा छोराछोरी गुमाउनु नपरोस्’, पौडेलका बुबा नीलकण्ठले भने, ‘प्रहरीले अपराधीलाई छिटो कारबाही गरोस्।’
शोक र डरले आक्रोशित देवदहवासी दिनभर सडकमा उत्रिए। प्रहरीको कमजोरीका कारण बलु र तिवारीको ज्यान गएको भन्दै यस्तै अवस्था रहिरहे धेरै युवाको ज्यान जाने उनीहरूमा चिन्ता छ। दुर्गा तिवारीको हत्या भएपछि देवदहवासीले देवदहमा इलाका प्रहरी चौकी र ढेकावारमा अस्थायी प्रहरी चौकी मागेका थिए। ‘प्रशासनले आश्वासन मात्रै दियो, काम गरेन। प्रहरीको उपस्थिति नभएकाले अपराधीले बिनाडर गोली हान्न सके’, आक्रोशित स्थानीयले भने।
पौडेलको सब अझै अञ्चल अस्पतालमा छ। पोस्टमार्टम भएको छैन। दुर्गा तिवारीको हत्या हुँदादेखिका माग पूरा नहँुदासम्म शव नउठाउने स्थानीय र परिवारको अडान छ। दुई स्थानमा प्रहरी चौकी, अपराधीलाई कारबाही र दुवै युवालाई सहिद घोषणा गर्नुपर्ने उनीहरूको माग छ।
मोटरसाइकल नक्कली
पौडेलको हत्यामा प्रयोग भएको भनिएको लु ४ प १४ नम्बरको मोटरसाइकल नक्कली भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएका छन्। ‘धैरै पाटाबाट अनुसन्धान गरिरहेका छौं, उनले भने, ‘अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान टोली नै रुपन्देही आएको छ।’
वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा आएको टोलीले अनुसन्धान सुरु गरिसकेको छ। संघीय प्रहरी इकाइ कार्यालय भैरहवाले प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा अनुसन्धान टोली बनाएर खटाएको छ। सबै निकायबाट अनुसन्धान भइरहे पनि नक्कली नम्बरको मोटरसाइकल फेला पार्नुबाहेक अन्य प्रगति हुन सकेको छैन।