काठमाडौं– सर्वोच्च अदालतले सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ का वाम गठबन्धनका साझा उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारीबारेको छिनोफानोे आज गर्दैछ ।
सर्वोच्चले राय यादवको उम्मेदवारी खारेज हुने या नहुने भन्ने मंसिर २१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै फैसला गर्न लागेको हो ।
रायमाथि कुटनीतिक राहदानी दुरुपयोग गरेको आरोप छ । तर, यादवले नेपाली काङ्ग्रेसका उम्मेदवार अमरेशकुमार सिंहले आफूमाथि षड्यन्त्र गरेर आफ्नो उम्मेदवारी खारेज गर्न लगाएको आरोप बताउदै आएका छन् । उनले आफूलाई सर्वोच्चले न्याय दिने पनि बताए ।
रातोपाटीसँगको कुराकानीमा उनले आफ्नो पक्षमा जनलहर देखेर आत्तिएका सिंहले भारतसँग हारगुहार मागेर आफ्नो उम्मेदवारी रद्द गर्न लगाएको बताएका थिए ।
बुधबारै न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उम्मेदवारी खारेजीको कारण पेस गर्न निर्वाचन आयोगको नाममा आदेश जारी गरिसकेको छ । आजको छलफलपछि सर्वोच्चले फैसला सुनाउने छ । यसअघि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि यादव सर्वोच्च पुगेका थिए ।
उता, आयोगले उम्मेदवारी खारेज गरेपनि आफ्ना कार्यकर्तासहित यादवले आफ्नो क्षेत्रमा चुनाव प्रचार र मत माग्ने काम रोकेका थिएनन् । त्यहि क्रममा केही दिनअघि सर्लाहीमै भेटिएका यादले रातोपाटीसँग भनेका थिए –सर्लाहीमा मेरो पक्षमा माहौल बनिरहेको थियो । यसबाट अत्तालिएर अमरेशकुमार सिंह काठमाडौँ पुगेर भारतसँग मेरो उम्मेदवारी खारेज गर्न लगाउन हारगुहार गरेका हुन् । भारतकै दवाबमा निर्वाचन आयोगले ममाथि अन्याय गरेको हो, नत्र सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दामा आयोगले किन यस्तो निर्णय गथ्र्यो’ यादवले प्रश्न गरेका थिए ।
पहिलो संविधानसभामा तत्कालिन मधेसी जनाधिकार फोरमबाट सभासद बनेका रायलाई कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । त्यसविरुद्धको पुनरावेदन सर्वोच्च अदालतमा अहिले पनि विचाराधिन छ ।
यादवविरुद्ध स्वतन्त्र उम्मेदवार गणेशकुमार सिंहले जिल्ला र अनिलकुमार सिंहले निर्वाचन आयोगमा कार्तिक १९ गते उजुरी दिएका थिए । तर, आयोगले उजुरी सुनवाई नगरेपछि उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।
यो मुद्दामा कारण देखाउ भन्दै सर्वोच्च अदालतले आदेश जारी गर्दै आयोगसँग लिखित जवाफ मागेपछि जवाफ पठाउनुको साटो आयोगले उम्मेदवारी नै खारेज गरेपछि यो मुद्धा थप पेचिलो बन्दै आएको थियो । ‘मलाई आशा छ, सर्वोच्चले मलाई न्याय दिनेछ,’ यादव आशावादी हुदै भन्छन्– ‘अन्तिम न्याय दिने त सर्वोच्चले हो त्यसकारण पनि म आशाबादी छु मलाई न्याय मिल्छ ।’
पहिलो संविधानसभामा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको तर्फबाट सभासद बनेका यादव त्यसपछि माओवादी केन्द्र प्रवेश गरेर सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका थिए । सो क्षेत्रमा यादव बाम गठबन्धनका साझा उम्मेदवार हुन् ।
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक
https://youtu.be/Yh4f6jZfP48