पुस ५, २०७४-गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’ ले रिलिज मिति आगामी वर्षको वैशाख २८ लाई तय गरेको छ । कविर खडका, सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सन्जित भण्डारी, कुशाग्र भट्टराईलगायतको मुख्य भूमिका रहेको यसै फिल्ममा तरकारीवालीको उपनामले चर्चामा आएकी कुसुम श्रेष्ठले समेत अभिनय गरेकी छन् । कविरले पनि यसै फिल्मबाट नायकका रुपमा डेब्यु गर्न लागेका हुन् । उनी ओस्कार फिल्म कलेजबाट कलाकारितामै स्नातक गरेका हुन्
एक युवाको जीवनमा आइपर्ने अकल्पनीय घटना र त्यसलाई पार गर्ने क्रममा अपनाउने संघर्षलाई रोचक ढंगले फिल्माकंन गरिएको निर्देशक लामिछानेले बताएका छन् । उनले भने, ‘समय र परिस्थितिले गर्दा त्यही मान्छेलाई कहिले नायक पनि बनाउँछ भने कहिले खलनायक पनि । ‘लम्फू’ यही थिममा रहेर तयार पार्न खोजेका हौं ।’
पपुलर मल्टिमिडियाको ब्यानरमा शक्तिवल्भब घोरासैनीले फिल्म निर्माण गरेका हुन् । निर्देशक लामिछाने र निर्माता घोरासैनीकै जुगलबन्दीमा यसअघि ‘बोक्सी’, ‘द मिरर’, र ‘ओ माई म्यान’ सर्टफिल्म र ‘किन लाग्छ माया’ फिल्म बनाइसकेका हुन् । भूपतिको पटकथा लेखन रहेको ‘लम्फू’ लाई दीपक बज्राचार्यले खिचेका हुन् भने हरि सिलवालको सम्पादन रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल लगायतको गीत रहेको छ । निर्माण पक्षले छिट्टै फिल्मका गीत पनि सार्वजनिक गर्ने बताएको छ ।
वैशाख २८ का लागि काठमाडौंमा स्टेसन फाइभ र मोफसलमा एफडी कम्पनीले वितरणको जिम्मा लिएको निर्माता घोरासैनीले जानकारी दिए । फिल्मको डिजिटल तथा अन्तर्राष्ट्रिय अधिकार भने हाइलाइटस् नेपालले लिएको छ ।
http://kantipur.ekantipur.com/news/2017-12-20/20171220075901.html