विराटनगर, पुस ८ – विराटनगर महानगरपालिकाले धुलो नियन्त्रण गर्ने नाममा दमकलको दुरुपयोग बढाएको छ । विराटनगरमा धुलैधुलो भएको भन्दै सडकमा पानी हाल्नका लागि दमकलको प्रयोग गरेर महानगरपालिकाले दमकलको दुरुपयोग गरेको हो ।
आगलागी हुँदा नभई नहुने दमकल पछिल्ला दिनमा सडकमा पानी हाल्न प्रयोग भएको छ । विराटनगर महानगरपालिका भित्रको सडक निर्माणको लागि मझौला शहर एकीकृत वातावरणीय सुधार परियोजनाले गरेको काममा महानगरपालिकाको दमकल पानी हाल्न प्रयोग भएको हो ।
यो पानी हाल्ने काम परियोजना भित्रको भए पनि त्यसमा ठेकेदारले बेवास्ता गर्दा समस्या महानगरपालिकामा आएपछि महानगरले नै दमकलबाट पानी हाल्दै आएको छ ।
विराटनगर महानगरपालिकासँग ४ वटा दमकल रहेको मा ३ वटा दमकल मात्र प्रयोगमा छन् । तर ती दमकलमध्ये २ वटा दमकल तह हरेक दिन पानी हाल्न निस्कन्छन् ।
यसरी हरेक दिन हरेक गल्लीहरुमा पानी हाल्नमा प्रयोग गरिँदा अप्ठेरो पर्दाको अवस्थामा समस्या हुने बताइन्छ । तर महानगरले त्यस्तो अप्ठेरो नहुने बताउँदै आएको छ । तर यी दमकलको सामान पाउन मुश्किल पर्ने हुँदा यस्ता आकश्मिक साधन बिग्रिहालेमा मर्मतमा समस्या हुने चालकहरु बताउँछन् ।