विमानस्थलमा उडान अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरु। तस्बिर: एजेन्सी
अमेरिकाको एक अतिव्यस्त विमानस्थलमा बत्ति जाँदा हजारौं उडान अवरुद्ध भएका छन्। अमेरिकाको एटलान्टास्थित हार्ट्सफिल्ड ज्याकसन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार विद्युत आपूर्ति बन्द भएपछि विमानस्थल ठप्प बनेको बीबीसीले जनाएको छ।
विश्वकै सबैभन्दा व्यस्त उक्त विमानस्थलमा दैनिक झण्डै अढाई लाख यात्रु र करिब २५ सय उडानहरु हुने गरेका छन्। विमानस्थलमा विद्युत आपूर्ति सुरु भएपनि एक हजार भन्दा बढी उडानहरु रद्द भएका छन्।
सोमवार थप सयौं उडानहरु रद्द हुनसक्ने बताइएको छ। विमानस्थलमा अवतरणका लागि पूर्व निर्धारित कैयौँ उडानहरु अन्यत्रै प्रस्थान गरेका थिए। विमानस्थलले १० घण्टा भन्दा बढी विद्युत आपूर्ति कटौति भएको पुष्टि गरेको छ।
भूमिगत विद्युत केन्द्रमा भएको आगलागीले गर्दा विद्युत आपूर्ति बन्द भएको सो विमानस्थलमा विद्युत आपूर्ति सेवा उपलब्ध गराइरहेको कम्पनी जोर्जिया पावरले जनाएको छ।