काठमाडौं, २६ मंसिर – काठमाडौं बत्तीसपुतलीको शिल्पी थिएटरमा उपेन्द्र सुब्बाको नाटक ‘हरियो ढुंगा’ मञ्चन हुने भएको छ ।
नाटककर्मी सुनील पोखरेलको परिकल्पना र निर्देशन रहेको नाटक भुटानी शरणार्थीको कथामा आधारित छ । उक्त नाटक सुब्बाको ‘लाटो पहाड’ कथा संग्रहमा प्रकाशित कथामा आधारित छ ।
नाटकमा अभिनेता विपिन कार्की, सुनिशा बजगाईं, आभास अधिकारी, अनिल सुब्बा, मौसम खड्का, शिशिर थापा लगायतका कलाकारले अभिनय गर्नेछन् ।
‘डिस्कभर योरसेल्फ’ समूहले नाटक मञ्चन गर्न लागेको हो । उक्त समूहले यसअघि शेक्सपियरको ‘अ मिड समर सपना’ र इन्द्रबहादुर राईको ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ मञ्चन गरिसकेको छ ।
नाटक ‘हरियो ढुङ्गा’ यही मंसिर २९ गतेदेखि पुसको २२ गतेसम्म मंगलवारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ । शनिवार भने दिउँसो १ बजेपनि मञ्चन हुनेछ ।