
आबुधाबी : स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा पुगेको छ । रियल म्याड्रिड बुधबार अबेर खेलिएको सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्सको अल जजिरा क्लबलाई २-१ गोलले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । रियल म्याड्रिडले शनिबार हुने फाइनलमा उपाधिका लागि ब्राजिलियन क्लब जर्मियोसँग भिडन्त गर्नेछ।
रियल म्याड्रिडको जितमा गारेथ बेल र क्रिस्टियानो रोनाल्डो नायक बने । रियलले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । खेलमा अग्रता भने घरेलु क्लब अल जजिराले गरेको थियो । पहिलो हाफको खेल सकिनुभन्दा चार मिनेटअघि अल जजिराका लागि ब्राजिलियन स्ट्राइकर रोमारिन्होले गोल गरेका थिए । निर्धारित समयको ५३औं मिनेटमा रोनाल्डोले रियलका लागि बराबरी गोल फर्काएका थिए ।
खेल प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहँदा ८१औं मिनेटमा बेलले गोल गर्दै रियल म्याड्रिडलाई विजयी बनाएका थिए । परिवर्तित खेलाडीका रूपमा मैदानभित्र प्रवेश गरेको एक मिनेट पनि बित्न नपाउँदै बेलले टोलीका लागि निर्णायक गोल गरेका थिए । वेल्सका स्ट्राइकर बेल करिम बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका थिए । क्लब विश्वकपको पछिल्ला चार संस्करणमा रियल म्याड्रिड तेस्रो उपाधिको खोजीमा छ ।
बेलले क्लबका लागि महत्वपूर्ण खेलमा निर्णायक गोल गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । ‘मेरो गोलभन्दा पनि क्लबको जित महत्वपूर्ण कुरा हो तर टोली अप्ठ्यारो स्थितिमा रहँदा गरेको गोलले छुट्टै अर्थ राख्छ’, बेलले भने । पछिल्लो समय पटकपटक घाइते हुँदै आएका बेलले जारी सिजनमा रियल म्याड्रिडका लागि ११ खेलमात्र खेलेका छन् ।