धनगढी,५ मंसीर । नेपाली कांग्रेसकी उम्मेदवार आरजु राणा देउवाले आफू सुदूरपश्चिमकी बुहारी भएकोले कैलालीमा निर्वाचन क्षेत्र रोजेको बताएकी थिईन्। उनले कैलालीसहित प्रदेश नम्बर ७ सुदूरपश्चिमको समग्र विकासलाई पहिलो प्राथमिकता बनाएकोले यहीबाट चुनाव लडेको बताईन्।
‘मलाई काठमाडौं, बाँके, बर्दिया सहित धेरै ठाउँबाट चुनाव लड्न अनुरोध आएका थिए’ आरजुले भनिन् ‘ तर मैले कैलालीको यो क्षेत्र रोजें ।’ क्षेत्र नम्बर ५ की प्रतिनिधि सभा सदस्य उम्मेदवार आरजुले मंगलबार धनगढी उपमहानगरपालिको वडा नम्बर ३ का बडहरा, विशालनगर, मसानटोल, चटकपुर लगायतका स्थानमा घरदैलो र चुनावी सभामा सरिक भईन् ।
चुनावी सभाहरुमा उनले आफूलाई सुदूरपश्चिमका समस्या र अवस्थाबारे राम्रो ज्ञान रहेको दावी गर्दै भनिन्, यहाँको तीब्र आर्थिक सामाजिक विकासको अठोट सहित म चुनावमा होमिएकी छु । यो क्षेत्र पिछडिएको क्षेत्रको रुपमा अब रहँदैन ।
उनले कांग्रेसले नै सुदूरपश्चिमलाई राजधानीसँग प्रत्यक्ष सम्पर्क स्थापित गराएको बताईन्।
‘२२ पुलको निर्माणपछि नै सुदूरपश्चिमको राजधानीसँग प्रत्यक्ष सम्पर्क स्थापित भएको हो’ उनले भनिन्,‘ सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, मेडिकल कलेज, गेटा विमानस्थलको विस्तार लगायतका कार्य कांग्रेस नेतृत्वको सरकारका कारण मात्रै सम्भव भएको हो ।’
आरजुले पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर आयोजना, दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, गेटा विमानस्थलको स्तरोन्नती, गौरिफन्टा नाको स्तरोन्नत, एक वर्षभित्र पोलिक्लिनिक इन्स्टिच्युटको स्थापना, विशेष औद्योगिक क्षेत्र लगायत सुुदूरपश्चिमको तीब्र आर्थिक विकासका प्रमुख आधारका रूपमा रहेका योजनाहरू कांग्रेसले नै अघि बढाउने दावी गरिन्।