मंसिर २०, २०७४-म्यानचेस्टर युनाइटेड र युभेन्ट्सले मंगलबार राति युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान निश्चित गरेका छन् । बायर्न म्युनिखले भने पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि मीठो बदला लिन सफल रह्यो ।
म्यानचेस्टर र युभेन्ट्ससँगै एएस रोमा र बासेलले लिग चरणको अन्तिम खेल जितेर नकआउट चरण प्रवेश गरेका हुन् । तर सन् २०१४ र २०१६ को उप विजेता एटलेटिको म्याड्रिडका लागि भने दिन सुखद रहेन र प्रतियोगिताबाट बाहिरियो ।
जोसे मोउरिन्होको म्यानचेस्टरले ओल्ड ट्रायफोर्डमा सीएसकेए मस्कोलाई २–१ ले हरायो र सन् २०१३–१४ यता पहिलो पल्ट नकआउट चरण पुग्न सफल रह्यो । सीएसकेए युरोपा लिगमा झरेको छ ।
बासेलले भने बेनफिकालाई लिस्बनमा २–० ले हरायो र एक दशकयता पहिलो पल्ट अन्तिम १६ मा पुग्यो । गत सिजनको उप विजेता युभेन्ट्सले भने ओलम्पियोजलाई २–० ले पन्छायो । यसै समूहमा बार्सिलोनाले स्पोर्टिङ लिस्बनलाई २–० ले निराश पारेको थियो ।
बायर्नले पीएसजीलाई ३–१ ले हरायो र यसै समूहमा एन्डरलेटले सेल्टिकलाई १–० ले पराजित गर्यो । चेल्सीविरुद्धको खेलमा एटलेटिकोले १–१ को बराबरी खेलेपछि स्पेनी क्लब निराश हुनु परेको हो । रोमाले भने कोरबागमाथि १–० को जित निकाल्यो ।