
दमक : मोरङको उर्लाबारी नगरपालिका ६ स्थित तरुण चौकमा मंगलवार बेलुका मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा उर्लाबारी नगरपालिका ६ बस्ने ३६ वर्षीय निलम पाण्डे रहेको प्रहरीले जनाएको छ। बेलुका पौने ८ बजे उर्लाबारी-मधुमल्ला सडक खण्डमा मधुमल्लाबाट उर्लाबारी तर्फ आउदै गरेको मे ४ प ३९१७ नम्बरको मोटरसाइकलले पैदल यात्री पाण्डेलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागी अरनीको अस्पताल उर्लाबारी पठाइएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
त्यस्तै मोटरसाइकलमा सवार चालक मिक्लाजुङ गाउँपालिका ९ बस्ने २० वर्षीय मोहन कुमार श्रेष्ठ र पछाडी सवार सोही ठाउँकी २२ वर्षीया निशा गुरुङ घाइते भएकी छन्। घाइते चालकको अरनीको अस्पताल उर्लाबारी र गुरुङलाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ। मोटरसाइकललाई प्रहरीको नियन्त्रणमा राखिएको छ।