चितवन : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चितवनको मेघौली एयरपोर्टमा नियमित उडान सुरु गरेको छ। लामो समयदेखि बन्द अवस्थामा रहेको एयरपोर्टमा निगमले बुधबार सफल परीक्षण उडान गरेको हो। स्थानीय बासिन्दा र पर्यटन व्यवसायीबाट विमानस्थलमा निगमको ट्वीनअटर विमानलाई भव्य स्वागत गरेका थिए। विमानमा सवार यात्रुको स्वागतमा थारु सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।
निगमले आइतबार, बुधबार र शनिबार उडान गर्ने भएको छ। मुलुकको प्रमुख पर्यटकीय गन्तव्य मेघौलीमा उद्योगी विनोद चौधरीको पहलमा नियमित उडान सुरु भएको हो। चौधरीको लगानीमा मेघौलीमा लक्जरी सफारी रिसोर्ट ‘मेघौली सेराई’ सञ्चालनमा ल्याएको छ, जसलाई प्रख्यात बहुराष्ट्रिय ब्रान्ड ताज सफारीले व्यवस्थापन गरिरहेको छ।
चितवन राष्ट्रिय निकुञ्ज भ्रमणमा आउने पर्यटक र स्थानीय बासिन्दालाई लक्ष्य गरेर निगमले नियमित उडान सुरु गरेको हो। मेघौली एयरपोर्ट सञ्चालनका लागि स्थानीय र पर्यटन व्यवसायीले पहल गर्दै आएका थिए। चितवनबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले पनि मेघौली एयरपोर्ट सञ्चालनलाई मुख्य एजेन्डा बनाएका छन्।
मेघौली सेराई रिसोर्टको पहलमा २०७३ वैशाखमा निगमको विमानले चार्टर्ड फ्लाइट गरेको थियो। सात वर्षपछि पहिलो पटक निगमको ट्वीनअटर विमान मेघौली एयरपोर्टमा अवतरण गरेको थियो। चार्टर्ड फ्लाइट गरेको करिब डेढ वर्षपछि निगमले नियमित उडान सुरु गरेको हो। ओझेलमा परेको विमानस्थलमा नियमित उडान सुरु भएपछि पर्यटन व्यवसायी र स्थानीय बासिन्दा उत्साहित भएका छन्। मेघौली एयरपोर्ट कुनै समय चल्तीको विमानस्थल थियो। यो विमानस्थलमा दैनिक १० वटासम्म उडान भएको तथ्यांक छ।
निगमले आइतबार, बुधबार र शनिबार मेघौलीका लागि उडान गर्ने भएको छ। उद्योगी विनोद चौधरीको पहलमा यहाँ नियमित उडान सुरु भएको हो।
चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले नियमित उडानबाट मेघौलीको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे। लामो समय बन्द रहनाले विमानस्थल घाँसे मैदानमा परिणत भएको छ। निगमको विमान घाँसे धावनमार्गमा अवतरण गरेको थियो। धावनमार्ग कालोपत्रे गर्नुका साथै प्राविधिक इक्विपमेन्ट जडान गरी विमानस्थल नियमित सञ्चालन गर्न उनले आग्रह गरे।
विमानस्थल सञ्चालनमा आएपछि मेघौली पुग्ने पर्यटकलाई पनि सहज हुने भएको छ। अहिलेसम्म पर्यटक भरतपुर विमानस्थलमा अवतरण गरी गाडीमा करिब २५ किलोमिटरको यात्रा गरेर मेघौली पुग्दै आएका थिए। पछिल्लो समय मेघौली पर्यटकको आकर्षक गन्तव्य बन्दै आएको छ।
मेघौली एयरपोर्ट २०१७ सालमा निर्माण सुरु भएको थियो। मेघौली एयरपोर्टमा चार्टर्ड उडान गरी तत्कालीन राजपरिवार, राणा तथा ठकुरी परिवार निकुञ्जमा सिकार खेल्न आउँथे। निकुञ्जभित्र टाइगर टप्स रिसोर्ट सञ्चालनमा आएपछि विदेशी पर्यटक ओसार्न मेघौली एयरपोर्ट प्रयोगमा आएको थियो। टाइगर टप्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानमार्फत सीधै पर्यटक रिसोर्टमा ल्याउने गथ्र्यो। विश्वकै सफारी टुरिजमको आइकन टाइगर टप्समा विदेशी राजपरिवार तथा विशिष्ट पाहुना आउँथे। अहिले निकुञ्जभित्रको टाइगर टप्स बन्द छ।
मेघौली एयरपोर्टको इतिहास आधा शताब्दी नाघिसकेको छ। विमानस्थल करिब २२ बिघा क्षेत्रफलमा फैलिएको छ। बेलायती महारानी एलिजाबेथ द्वितीय पनि मेघौली एयरपोर्ट हुँदै निकुञ्ज सफारीमा पुगेकी थिइन्। मेघौलीको खाली चौरमा महारानी एलिजाबेथ चढेको एभ्रो विमान ल्यान्ड गरेपछि चर्चा चुलिएको थियो। टाइगर टप्स सञ्चालनमा आएपछि विमानस्थल स्तरोन्नति गरिएको थियो।
मेघौली सेराईको विशेष सक्रियतामा विमानस्थल पुनः सञ्चालनमा आएको छ। मेघौली सेराईमा पनि चार्टर्ड उडानमार्फत पर्यटकलाई सेवा दिने लक्ष्य लिइएको छ। चितवन राष्ट्रिय निकुञ्ज, राप्ती र नारायणी नदीको किनारमा रहेको मेघौलीमा पर्यटकीय चहलपहल सुरु भइसकेको छ। प्राकृतिक सम्पदाले भरिपूर्ण मेघौलीमा आठवटा सामुदायिक वन छन्। नदी, ताल, सिमसार, वनजंगल, घाँसे मैदान भएकाले वन्यजन्तुको बाक्लो उपस्थिति रहेको महासचिव सुवेदीले बताए।
२०२२ सालमा टाइगर टप्स जंगल रिसोर्ट खुलेपछि नेपालमा जंगल सफारी पर्यटन सुरु भएको मानिन्छ। टाइगर टप्सले विश्वमै पहिलो पटक हात्तीपोलो खेल सुरु गरेको थियो। सूर्यास्त अवलोकनका लागि पनि मेघौली उत्कृष्ट छ। र्याफ्टिङ, डुंगा सयर, हात्ती सफारी, थारु सांस्कृतिक संग्राहलय, सांस्कृतिक कार्यक्रम, बाघ, गैंडाजस्ता दुर्लभ वन्यजन्तु अवलोकनका लागि पनि मेघौली चर्चित छ। लामो समयपछि एयरपोर्ट सञ्चालनमा आएपछि मेघौलीको पर्यटन गुल्जार हुने विश्वास छ।