एजेन्सी, माघ १५—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र इस्लामवादी आतंककारीहरुलाई देशबाट बाहिर राख्नका लागि भन्दै नयाँ कडा उपायहरुको घोषणा गरेका छन्। पेन्टागनमा जेनेरल जेम्स म्याटिसलाई रक्षामन्त्रीमा शपथ दिलाएपछि उनले उक्त कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।
आप्रवासीहरुलाई प्रेवश दिनेबारे कडा पारिएका उपाय कस्ता हुन्छन् भन्नेबारे उनले विस्तारमा बताएका छैनन्।हामी हाम्रो देशलाई समर्थन गर्ने र यहाँका जनतालाई माया गर्ने मान्छेलाई मात्रै आउन दिन्छौं ।
शुक्रबार पेन्टागनमा भएको शपथ कार्यक्रमका क्रममा ट्रम्पले उग्र इस्लामवादी आतंककारीहरुलाई अमेरिका बाहिर राख्नका लागि नयाँ कडा उपायहरु ल्याउने बताएका हुन्।उनले अमेरिकालाई समर्थन गर्ने र अमेरिकीलाई गहिरो प्रेम गर्ने मानिस मात्रै आफूहरुले आफ्नो देशमा चाहेको बताए।
उनले भने, ‘हामी यो सुनिश्चित गर्न चाहन्छौं कि हामी हाम्रा देशका लागि जोखिम तत्वलाई देश भित्रिन दिनेछैनौं। हामी हाम्रो देशलाई समर्थन गर्ने र यहाँका जनतालाई माया गर्ने मान्छेलाई मात्रै आउन दिन्छौं।’
शुक्रबार एउटा टेलिभिजनमा प्रशारित अन्तर्वार्तामा उनले शरणार्थीका रुपमा अमेरिका आउन खोज्ने सिरियालीहरुमध्ये क्रिश्चियन धर्म मान्नेलाई प्राथमिकता दिइने बताए।उनले अन्य ६ मुसलमान बहुल देशहरुबाट पनि मानिसहरुलाई अमेरिका प्रवेशमा कडाइ गर्ने बाचा गरेका छन्।
गत वर्ष पूर्व राष्ट्रपति बराक ओबामाको प्रशासनले १० हजार सिरियाली शरणार्थीलाई अमेरिका प्रवेश गर्न दिएको थियो।आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले आफ्नो देशका अधिकारीहरुले
अवस्थाको विस्तृत अध्ययन नगरेसम्म मुसलमानहरुलाई अमेरिका प्रवेश गर्नबाट पूर्ण प्रतिबन्ध लगाउने बताएका थिए।यद्यपि गत नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भए यता उनले यसबारे केही उल्लेख गरेका थिएनन्।