
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक समृद्घि र विकास हुने बताएका छन्। लगानीमैत्री वातावरण तयार पारी मुलुकको आर्थिक विकासलाई अगाडि बढाउँदै लैजाने भन्दै उनले स्वदेशमै धेरै रोजगारीको सिर्जना गरेर युवा विदेश पलायन हुनबाट रोक्न प्राथमिकता दिने बताए।
नेपाल घरेलु तथा साना उद्योग महासंघको पदाधिकारी एवं कार्यसमितिको टोलीसँग ओली निवास बालकोटमा आइतबार कुरा गर्दै ओलीले स्वदेशमै रोजगारी सिर्जना गर्न केन्द्रित रहँदै यसका लागि घरेलु तथा साना उद्योग, कृषि, पर्यटनमा आधारित उद्यमशीलता विकास गरी युवालाई आकर्षित गर्न जोड दिनुपर्ने बताए।
सियो धागोदेखि चामल र तरकारी÷फलफूलमा समेत विदेशीको भर पर्नुपर्ने अवस्थाबाट देशलाई मुक्त गर्नुपर्नेमा जोड दिँदै उनले देशलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याए।
देशभित्रै उत्पादन गर्नसक्ने कुरा पनि बाहिरबाट ल्याउनुपरेकोप्रति संकेत गर्दै पूर्वप्रधानमन्त्री ओलीले एकआध वस्तुबाहेक धेरै कुरामा आत्मनिर्भर हुनसक्ने प्राकृतिक स्रोत साधन हुँदाहुँदै पनि बाहिरबाट आयात गर्ने परिस्थिति अन्त्य गर्न जोड दिए।
प्राकृतिक रूपमा धनी नेपालीले आफूसँग भएको प्राकृतिक धनको सदुपयोग गर्दै कुनै बेला हरेक वस्तुमा आत्मनिर्भर रहेकोमा अहिले परनिर्भर बनेको टिप्पणी गर्दै उनले भने, ‘कुनै समय हाम्रो अर्थतन्त्र पुरै आत्मनिर्भर थियो। कुनै पनि वस्तु आयात गर्नु पर्दैनथ्यो। तर त्यो स्वाट्टै आयातमुखी सजिलो बाटोतर्फ जाँदा अहिलेको चरम परनिर्भरताको अवस्था सिर्जना भयो।’ केही वर्ष अघिसम्म मुलुक लत्ताकपडा, खाद्यान्नमा आत्मनिर्भर थियो, विस्तारै परनिर्भरता बढ्दै गएको चर्चा गर्दै अहिले स्वदेशमा टाँक, सियो, धागोसमेत बन्दैन। परनिर्भरता बढ्दै गएको छ।’ यस्तो अवस्था अन्त्य गर्न घरेलु तथा साना उद्योगबाट मात्र सम्भव रहेको उनले बताए।
मुलुकमा सबैखाले उद्योग, कृषि, व्यापार, तथा सेवा क्षेत्रलाई आजको विज्ञान प्रविधि र उन्नत चेतनाबाट तीव्र विकास गर्न प्रतिबद्ध रहने बताउँदै ओलीले साना उद्योगले मुलुकलाई अग्रगामी दिशातर्फ लैजान ठूलो भूमिका खेल्न सक्ने भनाइ राखेका थिए।