नुवाकोट । दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार दिउँसो पक्राउ गरेको छ।
सिआइबीले वडा कार्यालय घ्याङफेदीबाट तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।
तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा विचाराधीन छ। भारतको वेश्यालयबाट फर्केकी महिलाले दर्ता गराएको मुद्दामा पाँच लाख धरौटी राखी तामाङ एक वर्ष अघि रिहा भएको थिए।
मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ। गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। रासस