मंसिर १८, २०७४-अल्ट्रा धाविका मीरा राईले प्रतिस्पर्धीलाई झन्डै एक घण्टाले पछाडि पार्दै आइतबार हङकङमा भएको ‘एमएसआईजी लान्ताउ ५० किमि एसियन स्काई रनिङ च्याम्पियनसिप’ को उपाधि जितेकी छन् ।
तीन हजार ५ सय मिटरसम्म उक्लिनुपर्ने दौड ६ घण्टा ५० मिनेटमा पूरा गर्दै मीराले पहिलो स्थान हात पारेकी हुन् । दोस्रो र तेस्रो स्थानमा रहेका जापानी युकरी होसिनोले ७ घण्टा ५० मिनेट र काओरी निवाले ८ घण्टा २ मिनेटमा दूरी पूरा गरेका थिए । पुरुषतर्फ स्पेनका क्रिस्टोफर क्लेमेन्ट (५ घण्टा ३९ मिनेट) पहिलो भए । दौडमा कुल ३ सय ५६ धावक सहभागी थिए र त्यसमा मीरा सातौंमा रहिन् । महिलातर्फ भने ३८ धाविका दौडिएका थिए ।
नेसनल जोग्राफीको एड्भेन्चर्स अफ दि इयर २०१७ को अवार्ड जितेकी मीरा दोस्रोपल्ट एसियन स्काई रनिङ च्याम्पियन भएकी हुन् । यसअघि उनले सन् २०१५ मा हङकङमै भएको एमएसआईजी एचके ५० साइकुङ एसिया स्काई रनिङ च्याम्पियनसिपमा सफलता हासिल गरेकी थिइन् । माओवादीकी पूर्वछापामार रहेकी उनको अल्ट्रा दौडको ‘टर्निङ प्वाइन्ट’ त्यही हो । त्यही सफलताले उनलाई विश्वमै चर्चित बनाएको थियो । हुन त उनले २०१५ अप्रिलमा वल्र्ड स्काई रनिङ सिरिजको फ्रान्समा भएको प्रतियोगिता मोन्ट ब्लान्क (८० किमि) मा कीर्तिमानसहित पहिलो स्थान पनि हात पारेकी थिइन् ।
तर घुँडामा ‘एसिएल टियर’ भएपछि उनको दौड प्रभावित भएको थियो । त्यसको शल्यक्रिया गरेपछि गत वर्ष नै साहसिक दौडमा फर्के पनि मीराले फेरि ठूलो फड्को मार्न सकेकी थिइनन् । चोटमुक्त हुँदै फर्केयता उनले पहिलो उपाधिका रूपमा गत सेप्टेम्बरमा बेलायतमा भएको बेन नेभिस अल्ट्रा (१२० किमि) मा स्वर्णपदक जितेकी थिइन् । त्यसैले एमएसआईजी लान्ताउ एसिया च्याम्पियनसिपमा यसपालि उनलाई उपाधिको मुख्य दाबेदार मानिएको थियो ।
‘यो (एसियन च्याम्पियनसिप) धेरै कठिन रह्यो किनभने उकालो–ओरालो धेरै नै गर्नुपर्यो । खुट्किलो सबभन्दा गाह्रो थियो,’ मीराले हङकङबाट भनिन्, ‘गर्मी ठीकै थियो, जसले मलाई केही ढिला गरायो तर म अगाडि बढिरहें, गइरहें ।’ फेरि पुरानै लयमा फर्किने प्रयास गरिरहेको उनले बताइन् । उनले एमएसआईजीको दौडमा चौथोपल्ट उपाधि जितेकी हुन् । यसअघि उनी एसिया च्याम्पियनसिपबाहेक २०१४ मा एचके एमएसआईभी भर्टिकल किलोमिटर र एमएसआईजी एचके ५० किमिमा पहिलो भएकी थिइन् ।
उनले हङकङमा सहभागी सात दौडमध्ये पाँच उपाधि जित्ने क्रममा दुई वर्षअघि किङ अफ द हिल्सको पनि मुख्य ट्रफी कब्जा गरेकी थिइन् । उनले फेरि साहसिक दौडमा सहभागी हुन जनवरी २०१८ मा हङकङ जाने बताएकी छन्, जुनबेला गोर्खा ट्रेलब्लेजरको पहिलो संस्करण आयोजना हँुदैछ ।
http://kantipur.ekantipur.com/news/2017-12-04/20171204073300.html