राजधानी । ललितपुरमा नेपाल प्रहरीका एसपीको गाडीको ठक्करबाट स्कुटरमा सवार एक महिला घाइते भएकी छन् । साँझ करिब ६ बजेको समयमा बा१च ८०२५ नम्बरको प्रहरीको गाडीले ग्वार्को चोकमा बा७७प ३२७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो भने स्कुटरको पछाडि बसेकी सिंह सामान्य घाइते भएकी छन्।
एसपी दिलिप बस्नेतको गाडीले ललितपुरमा स्कुटरलाई ठक्कर दिँदा बिन्दु सिंह घाइते भएकी हुन् । एसपी बस्नेतले नै मदिरा पिएर गाडी चलाएको स्थानीयले दाबी गरेका छन् । गाडीमा उनका चालक पनि सँगै थिए ।
बस्नेत शारिरीक रुपमा अशक्त व्यक्ति हुन्। प्रहरी निरीक्षक हुँदै गम्भीर दुर्घटनामा परी घाइते भएका उनी एक महिना कोमामा थिए। एसपी बस्नेतले भने चालकले गाडी चलाएको बताएका छन्। उनी महानगरीय प्रहरी कार्यालयमा कार्यरत छन् ।
पछि दुईपक्षबीच भएको सहमतिपछि शनिबार ट्राफिक कार्यालय उपस्थित हुने सर्तमा ट्राफिक प्रहरीले एसपीको गाडी छाडिदिएको छ।