मंसिर २०, २०७४-मंसिर १० मा शान्तिपूर्ण रूपमा सम्पन्न चुनावको मतगणनाका लागि गणनास्थलमा सुरक्षा कडा पार्ने तयारी गरिएको छ । मतगणना बिहीबारबाट हुँदैछ । मतपत्र गन्न फलामे जाली लगाइएको छ । जिल्ला समन्वय समितिको ठूलो हलमा चार ठाउँमा गन्न मिल्ने गरी तयार गरिएको ठाउँमा दक्षिणतर्फ हलभित्र पूरै फलामे जालीको बार लगाइएको छ ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यका अनुसार मतगणनालाई भरपुर सुरक्षाको प्रत्यायभूति दिलाउन मतगणना स्थललाई फलामे जालीले बार लगाइएको हो । जालीभित्र मतगणक र गणक कार्यमा खटिने कर्मचारीमात्रै बस्न पाउनेछन् । ‘उम्मेदवारका एजेन्ट पनि जाली बाहिरै रहनेछन् ।
जाली बाहिर एजेन्टबाहेक कोही बस्न र आउन पाउने छैनन्,’ उनले भने । मतगणना र स्थल सीसी क्यामराको निगरानीमा हुने उनले बताए । ‘हामीले हलभित्रै सीसी क्यामराको कन्ट्रोल रूम राखेर निगरानी गर्नेछौं । मतपत्र रहेको ठाउँ टोटल्ली सीसी टीभीको निगरानीमा छ,’ उनले भने ।
सहायक निर्वाचन अधिकृत एवं स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलका अनुसार पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा जिल्ला समन्वय समितिको बैठक कक्षलाई मिडिया सेन्टरका रूपमा स्थापना गरिएको छ । यसका लागि मंगलबार जिल्ला समन्वय समितिको कार्यालयबाट ‘हाइस्पीड’ को इन्टरनेट जडान गरिएको छ । यस कक्षमा बसेर पत्रकारले अडियो, भिडियो र समाचार आफ्नै कम्प्युटर (ल्यापटप) बाट पठाउन र लाइभ गर्न सक्नेछन् । यस कक्षबाट एकैपटक १५ जना पत्रकारले आफ्नो सामग्रीसहित समाचार सम्प्रेषण गर्न सक्नेछन् । पत्रकारलाई आलोपालो गर्ने गरी पासको व्यवस्था मिलाइने उनले बताए । ‘हामीले मत गन्ने ठाउँ र बाहिर मोबाइल प्रतिबन्ध लगाएका छौं । पत्रकारले पनि मिडिया सेन्टरभित्र बसेर वा पछाडि गएरमात्रै मोबाइल फोन प्रयोग गर्न पाउनेछन्,’ उनले भने । सुरक्षार्थ जिससको गेटमै अनुमति प्राप्त सबैलाई खानतलासी गर्नेछ । भित्र प्रवेशपछि उनीहरूलाई मोबाइल प्रयोग गर्न नदिइने मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना खटिएका छन् ।
मंसिर २१ गते बिहीबार साँझ ५ बजेबाट मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुरुमा ३ ठाउँमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना गरिने र त्यसपछि ४ ठाउँमा प्रदेशसभाको दुवै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मत गन्ने तयारी गरिएको छ । त्यसपछि भने समानुपातिकको मत गन्नेछ ।
मतगणनाका लागि करिब ५० जना कर्मचारी छनोट गरिँदै छ । मुख्य निर्वाचनसहित निजामती सेवातर्फका राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका (उपसचिव), अधिकृत, कम्प्युटर अपरेटर तथा केही नायब सुब्बा तहका कर्मचारीलाई छनोट गरिएको र एक अभिमुखीकरण तालिम गराइने भएको छ ।
करिब १० दिनभित्र सबै मतगणना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेश सभाका लागि जिल्लाका १६५ मतदान केन्द्रका ४९५ मतपेटिका सीसी क्यामराको निगरानीमा राखिएको छ । दैनिक कांग्रेस, एमाले र माओवादी केन्द्रका २/२ जना प्रतिनिधिले दिनरात रुँगिरहेका छन् । कुल १ लाख १५ हजार ४ सय ४९ मतदाता रहेको लमजुङमा ७७ हजार ३ सय ४० मत खसेको थियो ।
http://kantipur.ekantipur.com/news/2017-12-06/20171206072012.html