काठमाडौं, मंसिर १० – मतदाताले भोट खसाल्न औसतमा ६ मिनेट समय लागेको जानकारी दिएका छन् । आइतबार बिहान भोट खसालेका मतदातामध्ये कतिपयले ३ देखि ४ मिनेटभित्र मतदान गर्न भ्याएको बताए । केही मतदाताले भने १० मिनेटसम्म समय लागेको बताएका छन् ।
नाम रुजु गराएर मतपत्र लिइसकेपछि औसतमा ६ मिनेटमा मतपेटिकामा खसाल्न भ्याइने मतदाताको भनाई छ । तर लाइनमा भने घण्टौं उभिनुपरेको मतदाताको गुनासो छ ।
मतदानका लागि जाँदा निर्वाचन आयोगले दिएको परिचयपत्र वा अरु कुनै आधिकारिक प्रमाणपत्र लिएर जानुपर्छ । मतदान केन्द्रमा पुगेपछि कर्मचारीले परिचयपत्र रुजु गरेर नङमा कालो मसी लगाइदिन्छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको दुईवटा चुनाव एकैपटक भएकाले दुवै तहका लागि प्रत्यक्ष र समानुपातिक गरी दुईदुई ठाउँमा छाप लगाउनुपर्छ । चुनावमा तीनवटा मतपत्रमा चार ठाउँमा छाप लगाउनु पर्छ । मतदान अधिकृतले सबैभन्दा पहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको हरियो रंगको मतपत्र दिनेछन् । त्यो मतपत्रमा स्वस्तिक छाप लगाएर मतपेटिकामा खसाल्नुपर्छ ।
प्रतिनिसभाको लागि भोट खसालेपछि सँगै रहेका कर्मचारीले प्रदेशसभाको प्रत्यक्षतर्फको कालो रंगको मतपत्र दिनेछन् । त्यसलाई पनि छाप लगाएर काले रंगकै मतपेटिकामा खसाल्नु पर्छ ।
प्रत्यक्षतर्फको भोट खसालेपछि समानुपातिकतर्फको हल्का रातो रंगको मतपत्र सँगै बसेका अर्का कर्मचारीले दिनेछन् । त्यसको माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाका लागि एक÷एक वटा चिन्हमा मात्र छाप लगाउनुपर्छ ।