काठमाडौं : बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर फोटोसहितको परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने निर्वाचन आयोगले वैकल्पिक व्यवस्था गरेको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले कुनै कारणले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले पनि मतदान गर्न पाउने व्यवस्था गरिएको जानकारी दिएका छन्। ‘निर्वाचनमा मतदान गर्न पाउने मतदाताको मताधिकारको सम्मान गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न पाउने व्यवस्था गरेका छौं’, ढकालले भने। आयोगका अनुसार, मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदान गर्न पाउने छन्। यस्ता मतदाताले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउनेछन्। स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र लिएका मतदाताले सोही मतदाता परिचयपत्रका आधारमा र मतदाता नामावलीमा पछि नाम लेखाएका मतदाताले आफूले मतदान गर्ने केन्द्रमा गएर बुधबारसम्म उक्त परिचयपत्र प्राप्त गर्नेछन्।
Read more at: http://thahakhabar.com/news/27679
Read more at: http://thahakhabar.com/news/27679