
विदुर : नुवाकोटका भूकम्पपीडितले स्थानीय तहको सिफारिसका आधारमा घर पुनर्निर्माणका लागि नदीखोलाबाट निःशुल्क बालुवा उत्खनन् गर्न पाउने भएका छन् । जिल्ला समन्वय समिति नुवाकोटले आयोजना गरेको सर्वपक्षीय बैठकले भूकम्पमा घर भत्केर पुनर्निर्माण गर्न समस्या भोगिरहेका भूकम्पपीडितलाई आवश्यक बालुवा उत्खनन् गर्न पाउने निर्णय गरेको हो ।
बैठकमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसहित प्रहरी प्रमुख वसन्तबहादुर कुँवर तथा स्थानीय तहका प्रतिनिधिसमेत सहभागी थिए । बैठकले ढुंगा, गिट्टी र बालुवा अभावमा कठिनाइ भोगिरहेका भूकम्पपीडितले जिल्ला समन्वय समितिलाई तिर्नुपर्ने कर बुझाएर नजिकको नदीखोलाबाट बालुवा संकलन गरी घर पुनर्निर्माण गर्न लैजान पाउने व्यवस्था मिलाइएको बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनालले बुधबार बताए । घर निर्माणका लागि आवश्यक बालुवा उत्खनन् गर्दा डोजर तथा एस्काभेटर प्रयोग गर्न नपाइने उनले बताए ।
जिल्लामा भूकम्पपछिको पुनर्निर्माणसहित विभिन्न ठूला आयोजना निर्माण गर्न १३ लाख घनमिटर बालुवा आवश्यक देखिए पनि नुवाकोटमा पर्याप्त बालुवा नहुँदा भूकम्पपीडितले संकलन गर्दा बालुवाको मागसमेत घट्ने अनुमान जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङले बताए । बैठकमा नुवाकोट जिल्लामा क्रसर उद्योग सञ्चालन र बालुवा प्रशोधन गरिरहेका व्यवसायीले बालुवाको माग धान्न नसकिने भन्दै बालुवाखानी सञ्चालन गर्न अनुमति मागेका छन् ।
व्यवसायीहरूले बालुवाको माग अत्यधिक रहेकाले पर्याप्त आपूर्ति गर्न खानी सञ्चालनमा सहजीकरणका लागि पनि स्थानीय प्रशासनसँग माग गरेका छन् । तर स्थानीय प्रशासनले भने अवैध कामलाई वैधता दिन नसकिने जनाएको छ । नुवाकोटमा ०७२ साल वैशाख १२ को भूकम्पले ६९ हजार आवास निर्माण गर्नुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक छ ।